अमेरिकाले नेपालीलाई दिएको टीपीएसबारे ५ महिनामा निर्णय लिंदै, १३ हजारको भविश्यमा आशंका
प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार
अमेरिकी सरकारले एकपछि अर्को गर्दै विभिन्न देशहरुको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस खारेज गरिरहदा नेपालीले पाएको टीपीएसबारे पनि अन्यौल सृजना भएको छ । अमेरिकाले विभिन्न देशहरुको टीपीएसको अवधि नथपेको अवस्थामा नेपालबारे पनि अन्यौल सृजना भएको हो ।
३ लाख मध्य अमेरिकन र हैटियनहरुको टीपीएसको अवधि थप्न आवश्यक नभएको भन्दै अमेरिकी विदेशमन्त्रालयले होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुलाई पत्र लेखेपछि अरु देशको टीपीएस थपिनेमा आशंका बढेको छ । मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी कार्यकारी सेक्रेटरी एलेन ड्युकलाई पत्र लेख्दै मध्य अमेरिका र हैटीका नागरिकलाई टीपीएसको अवधि थप्न आवश्यक नभएको बताएका थिए ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सोमबारसम्म होण्डुरस र निकारागुवाका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएसको अवधि थप्ने वा नथप्ने सन्दर्भमा निर्णय लिने जनाइएको छ । अमेरिकामा टीपीएसबाट संरक्षित हुनेमा होण्डुरसका झण्डै ५७ हजार र निकारागुवाका झण्डै २५ सय छन् । उनीहरुको टीपीएस आगामी जनवरीमा समाप्त हुँदैछ ।
एल साल्भाडोरका झण्डै २ लाख टीपीएसप्राप्तहरुका बारेमा निर्णय लिने समय भने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग अझै झण्डै २ महिना बाँकी छ । हैटीका टीपीएसप्राप्त झण्डै ५० हजारको बारेमा भने अमेरिकी सरकारले नोभेम्बरको अन्तिम सातासम्म निर्णय लिने अपेक्षा गरिएको छ । यदि अमेरिकी सरकारले टीपीएसको अवधि नथपेको खण्डमा पनि उनीहरुलाई अमेरिका छाड्न वा स्टेटस एड्जस्ट गर्नका लागि ६ महिनाको सहुलियत अवधि दिनसक्ने जनाइएको छ ।
कुन देशको टीपीएस कहिले सकिदैछ ?
एल साल्भाडोरको टीपीएस अवधि २०१८ को मार्च ९ मा सकिदैछ । सकिनुभन्दा ६० दिन अगाडि अमेरिकी सरकारले निर्णय लिनसक्ने भएकाले यसबारे जनवरीको पहिलो सातातिर निर्णय आउनुसक्ने अपेक्षा गरिएको छ । गायना, लाइबेरिया र सिरियालिओनको टीपीएस अवधि गत मे २१ मा समाप्त भइसकेकाले उनीहरु देशनिकालाका लागि योग्य छन् । हैटीको टीपीएस अवधि आगामी जनबरी २२ मा सकिने भएकाले आगामी थ्यांक्सगिभिंगसम्म उनीहरुबारे निर्णय हुनसक्ने जनाइएको छ ।
होण्डुरस र निकारागुवाको टीपीएस आगामी जनवरी ५ मा सकिने भएकाले उनीहरुबारे सोमबारसम्म निर्णय आउनसक्ने जनाइएको छ । नेपालको टीपीएस अवधि आगामी जुन २४ सम्म रहेकाले अमेरिकाले नेपालबारे पनि अप्रिलको अन्तिमसातासम्म निर्णय गर्नेछ । नेपालबारे निर्णय लिनका लागि अब ६ महिना पनि बाँकी छैन ।
सोमालियाको टीपीएसअवधि आगामी सेप्टेम्बर १७ मा सकिनेछ भने साउथ सुडानको टीपीएस अवधि सन् २०१९ को मे २ सम्म रहेको छ । सुडानको टीपीएस सन् २०१८ को नोभेम्बर २ सम्म रहेको छ भने सिरियाको आगामी मार्च ३१ सम्म रहेको छ । सिरियाबारे पनि अमेरिकी सरकारले जनवरीको अन्तिमसातासम्म निर्णय लिनेछ । यमनको टीपीएस अवधि भने आगामी सेप्टेम्बर ३ सम्म रहेको छ ।