यसरी जन्म्यो ‘मेरो जीवनको भोगाई’ पुस्तक


प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

– सरला शर्मा

मैले उमेरमा लेख पढ गर्न पाइन । त्यसैले म पढालेखा महिला होइन । अपढित मानिसका पनि भावना भने हुँदारहेछन्, अनुभव र अनुभूति पनि हुँदारहेछन् । भोगाइहरू विचार बनेर भित्रभित्रै मूल फूट्दो रहेछ । तर त्यसलाई बाहिर ल्याउन अपठितलाई साह्रै गाह्रो हुनेरहेछ ।

२०५८ सालपछि म भूमिगत भएर भारत बस्न थाले । समय बिताउने एकमात्र साथी रेडियो, पत्रपत्रिका र टेलिभिजन बन्यो । नेपालमा युद्ध चलिरहेको थियो । समाचार सुन्न पढ्न मन लाग्थ्यो । त्यसले मलाई कम्प्युटर खोल्न र बन्द गर्न बाध्य पाऱ्यो । व्यवहारबाटै मैले त्यसो गर्न सिकें । साजनले इन्टरनेट खोलेर कम्प्युटरमा सबै पत्रिका राखिदिएर कलेज जाने गर्थे, मैले दिनभरी पढ्ने गर्थे । जनसत्ता, साहारा, नवभारत टाइम्स लगायतका हिन्दी पत्रिका पनि दैनिक आउँथे । तिनलाई पनि पढ्ने कोशिस गरेर केही सिक्दै गए ।

मलाई कलम समाएर केही लेखौंलेखौं हुने, मनको वह पोखौंपोखौं हुनेगथ्र्यो । तर, लेख्न निकै गाह्रो हुन्थ्यो । तैपनि, अलिअलि अनुभवहरू लेख्न थाले । साँझबिहानको खर्च टिप्न थाले । हिसिला यमि (पार्वती) समय समयमा आएर मलाई प्रेरणा दिनुहुन्थ्यो । २१ मार्च २००३ का दिन उहाँले एउटा डायरी दिएर यसलाई भर्न भन्नुभयो । मलाई यो ठूलो प्रेरणा भयो । मैले प्रेमपूर्वक डायरी लिएँ र लेख्न थाले । म हिसिलाजीलाई आत्मैदेखि धन्यवाद दिन चाहन्छु । मेरो दुस्ख सुखका कथा धेरै छन् । सबैलाई समेट्न सकिन । साँझबिहान डाडुपनिँयो खेलाएका खस्रा हातहरूले कलम समाएर मसिनो गरी लेख्न त्यति सम्भव भएन । मैले जे भोगें, जे देखें त्यही टिपेंरत्यही टिपोटलाई यहाँ राखेकी छु ।

दीनानाथजीले मलाई पुस्तक पत्रपत्रिका पढ्न प्रेरणा दिनुभयो । सरल प्रकारका किताब जुटाइ दिनुभयो । सकेसम्म मैले पढ्न र केही सिक्न कोशिस गरे । म धेरै ठाउँ डुलें, धेरै साथीहरूसित भेट भयो र नयाँनयाँ कुरा सिक्ने अवसर मिल्यो । मैले देखेका भोगेका कुराहरू कनिकुथी डायरीमा लेख्न थाले । दीनानाथजीले धेरै धेरै पढ्ने लेख्ने गर्नुहुन्थ्यो । मलाई त्यसै गर्न पाए भन्ने लागि रहन्थ्यो । त्यही मेरो प्रेरणा वन्यो ।

टुटेफुटेको भाषामा टिपिएका मेरा टिपोटहरूलाई मिलाई दिने र संधै प्रेरणा दिने जीवन साथी दीनानाथ शर्माजीलाई धन्यवाद दिन्छु । उहाँको संगतले नै जीवनमा तीतामीठा अनुभव गर्ने अवसर मिल्यो । मलाईं लेखपढ गर्न सघाउने छोरा साजन धन्यवादका पात्र हुन् । छोरी शान्ता, छोरा साजन, बुहारी टुनाले टाइप गरेर मेरा भावना प्रकाशन गर्न सघाए । भाषा सम्पादन र परिमार्जन गर्न राजनले मद्दत गरे । छोरी शारदा र कल्पना, बुहारी संगीताले प्रकाशित गर्ने प्रेरणा प्रदान गरे । ज्वाईं शुभशंकर कंडेलले प्रकाशनको जिम्मा लिएर गुन लगाउनु भयो । म सबैलाई धन्यवाद दिन चाहन्छु ।
मेरो न्वारनको नाम चन्द्रकला हो । मेरो नागरिकता पनि चन्द्रकला पाध्याको नाममा बनेको छ । झण्डै तीन दशक पहिलेदेखि पार्टीको नाम सरलाले म चिनिएकी छु । सरला मेरो मन परेको नाम भएकोले पनि त्यही नाममा यो पुस्तिका ‘मेरो जीवनको भोगाई’ प्रकाशित भएको छ । मैले भोगेको कुरा जस्ताको तस्तै राखेकी छ । समय बदलिएको छ । कालिगण्डकीको पानी धेरै बगिसकेको छ । हिँजोको परिस्थितिमा जजसले जे गरेपनि आज कसैप्रति मेरो आग्रह छैन । हिजो सहयोग गर्ने र विरोध गर्ने सबैको कुल योगफल आज हामीलाई यो ठाउँमा पुर्‍याएकोले सबैलाई धन्यवाद दिन चाहन्छु ।


 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com