अमेरिकी विमानस्थलमा ३० हजार जनाका मोबाइल लगायत विद्युतीय उपकरण चेकजाँच
प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार
अमेरिकी विमानस्थल वा पोर्ट अफ इन्ट्रीबाट अमेरिका आउनेहरुका मोबाइल लगायत विद्युतीय उपकरण चेकजाँच तीब्र पारिएको छ । आर्थिक बर्ष सन् २०१७ मा ३० हजार २ सय जनाका मोबाइल, कम्प्युटर, ट्याबलेट, क्यामेरा, ड्राइभ, टेपहरु, मिडिया प्लेयर लगायतका विद्युतीय उपकरणहरु चेकजाँच गरिएको युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले जनाएको छ ।
अमेरिकामा आउनेहरुका मोबाइल लगायतका विद्युतीय उपकरणमा रहेका तस्विर, भिडियो, एप्लिकेशनहरु लगायतका सफ्टवेयरहरु चेक गरिएको सीबीपीले जनाएको छ । आवश्यकता अनुशार अधिकारीले व्यक्तिका पासवर्ड राखिएका एप्लिकेशनहरु समेत पासवार्ड मागेर हेर्न सक्ने प्रावधान रहेको छ । विद्युतीय उपकरण चेकजाँचका क्रममा अधिकारीले व्यक्तिका सम्पर्क नम्बरहरु, पठाएका सन्देशहरु लगायत हेर्न सक्छन् ।
अमेरिका आउने व्यक्तिका विद्युतीय उपकरणमा आतंकबाद सम्बन्धित र राष्ट्रिय सुरक्षामा खतरा रहेको सामाग्री भए नभएको सुनिश्चित गर्न चेकजाँच गरिएको सीबीपीले जनाएको छ । त्यस्तै मानव वा नगद तस्करी, प्रतिबन्धित सामाग्रीहरुको ओसारपसार, बालबालिकाका यौनजन्य भिडियोहरु भए नभएको सुनिश्चित गर्न चेकजाँच गरिएको जनाइएको छ । त्यो बाहेक आर्थिक अपराधसँग सम्बन्धित सामाग्रीहरु भए नभएको निक्र्यौल गर्न समेत चेकजाँच गरिएको जनाईको छ ।
आर्थिक सन् २०१७ मा अमेरिका आएका ३ सय ९७ मिलियन यात्रुहरुमध्ये शुन्य दशमलव शुन्य शुन्य ७ अर्थात् जम्मा ३० हजार २ सयका मात्र विद्यतीय उपकरण चेक गरिएको थियो भने सन् २०१६ मा अमेरिका आएका ३९० मिलियन यात्रुमध्ये १९ हजार ५१ जनाका विद्युतीय उपकरण चेक गरिएको थियो ।
सन् २०१६ को तुलनामा सन् २०१७ मा विद्युतीय चेकजाच तीब्र पारिएको छ भने सन् २०१८ मा चेकजाँच तीब्र पार्न केहीदिन अगाडि सीबीपीका तर्फबाट नयाँ निर्देशिका समेत जारी गरिएको छ । नयाँ निर्देशिकामा आधारभूत र गहन चेकजाँचका तरिका लगायत विभिन्न नियमहरु उल्लेख गरिएको छ ।