बीबीसीमा बिष्णुमाया – ‘नयाँ जन्म पाएजस्तै लाग्छ’


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

नेपालको कथित दलित परिवारमा जन्मुभएकी बिष्णुमया परियार अमेरिकामा विभिन्न अवार्ड र सम्मानबाट सम्मानित भइरहनुभएको छ । अहिले उहाँले नेपालमा दलितहरुको शिक्षा र तालिममा आफ्नो समय लगाइरहनुभएको छ । बीबीसी रेडियोको अविश्वसनीय व्यक्तिगत कथाहरु भन्ने आउटलुक कार्यक्रममा प्रस्तोता जो फिजेनलाई बिष्णुमायाले दिनुभएको अन्तरवार्ताको सारसंक्षेप र नेपाली अनुवाद । आउटलुक कार्यक्रम बीबीसीमा सन् १९६६ को जुलाइदेखि प्रशारण हुन थालेको हो । यो कार्यक्रममा विश्वका विभिन्न मानव चासोका कथाहरु प्रस्तुत गरिन्छ ।

तपाईलाई जातीय छुवाछुत बिरुद्ध लड्न के कुराले प्रेरित गरेको थियो ?

म जब सातआठ बर्षकी थिएँ, म गाउँमा अरु बच्चाहरुसँग खेल्ने गर्थें । हामी सबैजना एकैसाथ खेल्थ्यौं । जब खाना खाने बेला हुन्थ्यो वा घरमा जाने बेला हुन्थ्यो, उनीहरु हाम्रो घरमा आउन पाउँथे तर मलाई उनीहरुका भित्र जान दिइदैनथ्यो । मैले त्यसपछि बुबालाई सोध्ने गर्थे कि किन हामी अरु भन्दा फरक छौं ? किन म अरु बच्चा जस्तै देखिएपनि फरक व्यवहार गरिन्छ ? मेरो बुबाले भन्नुहुन्थ्यो कि यो त चल्दै आएको रिती हो । यो प्रणालीले हामीलाई यस्तो बनाएको हो । तिमीले यो प्रणालीबिरुद्ध लड्नुपर्छ ।

मेरो बुबा गत जनवरीमा बित्नुभयो । उहाँ अत्यन्तै फरक खालको व्यक्ति हुनुहुन्थ्यो । उहाँ कहिल्यै पनि विद्यालय जानुभएन तर उहाँ साक्षर हुनुहुन्थ्यो । उहाँले पढ्न लेख्न सक्नुहुन्थ्यो । नेपालमा धेरै महिलाहरुलाई छोरा नजन्माएको भन्दै आरोप लगाउने गरिन्छ । तर मेरो आमाका १० जना छोरीहरु जन्मनुभयो । मेरो बुबाले कहिले पनि आमालाई छोरीमात्र जन्माएको भन्दै कहिल्यै आरोप लगाउनुभएन । उहाँले सबै छोरीहरुलाई छोरासरह नै ठान्नुहुन्थ्यो ।

तपाईको बुबाले यो प्रणालीबिरुद्ध लड्नका लागि तपाईलाई नै प्रेरित गर्नुको कारण के हो ?

अरु कुनै पनि बच्चाहरुले उहाँलाई त्यसअगाडि त्यस्तो प्रश्न गरेका थिएनन् । तर मैले सोधें । त्यसपछि उहाँले यो जातीय प्रणाली रहेको र त्यसका बिरुद्ध लड्नुपर्ने बताउनुभयो । उहाँले छुवाछुत प्रथा हटाउनका लागि सबैभन्दा पहिलो शिक्षा आवश्यक रहेको कुरा गर्नुहुन्थ्यो । त्यो कुराले मेरो मुटु छोयो । मलाई लाग्यो कि जस्तोसुकै भएपनि म शिक्षित हुनैपर्छ र मैले यो प्रणाली परिवर्तनका लागि पहल गर्नैपर्छ ।

तपाईहरुका लागि विद्यालय जानु कत्तिको साधारण कुरा हो ?

विद्यालय जानु साधारण कुरा थिएन । ग्रामिण क्षेत्रमा धेरै बच्चाहरु विद्यालय जान नपाउनुका कैयन कारणहरु थिए । पहिलो उनीहरु गरिब भएका कारण शिक्षा हासिल गर्न सक्दैनथे । दोश्रो, जब उनीहरु –कथित दलित) विद्यालयमा जान्थे, उनीहरुलाई एकदमै नराम्रो व्यवहार गरिन्थ्यो । जनावरको जस्तो व्यवहार गरिन्थ्यो । मेरो सन्दर्भमा समेत म कक्षा तेजिलो विद्यार्थी नै थिएँ । तर अरु बच्चाहरुले मलाई दलित , अछुत भन्दै जिस्काउने गर्थे । तिमी किन विद्यालयमा आएको ? तिमी त कपडा सिलाउन जानुपर्ने भन्दै अपमान गर्थे ।

उनीहरुलाई तपाईको जवाफ के हुन्थ्यो ?
मेरो सन्दर्भमा मलाई भित्रभित्रै पीडा महसुस भएपनि मैले त्यतीबेला खासै प्रतिकृया जनाउदैनथें । मैले कहिले पनि आफूभित्रको पीडा व्यक्त गरिन । मलाई थाहा थियो उनीहरु म विद्यालय आउन छाडेको चाहन्थे । हाम्रो जातको पेशा अरुका लागि कपडा सिलाउनु थियो । त्यसैले उनीहरुले मलाई दमिनी भनेर अपमान गर्थे ।

उसो भए तपाईहरुको जातको पेशा अरुका लागि कपडा बनाइदिनेमात्रै थियो ?

हजुर । उच्च जातका भनिनेहरुलाई कपडा सिलाइदिने र बाजा बजाइदिने गर्नुपथ्र्यो ।

तपाईको बुबाले पनि कपडा सिलाइदिनुहुन्थ्यो ?
हजुर । यो एउटा दासता जस्तै नै थियो । मेरो बुबाले दुईसय परिवारका लागि कपडा सिलाउनुपथ्र्यो । उहाँको काम नयाँ कपडा सिलाउनेमात्र नभई पूराना कपडा मर्मत गर्नुपनि थियो । बदलामा उनीहरुले एक टोकरी मकै दिन्थे । कहिले कोदोमात्र दिन्थे । धेरैजसो समय उनीहरुले हाम्रो घरमा नै सिलाउने कपडा लिएर आउँथे । बुबाले जहिले पनि कपडा सिलाइरहनुहुन्थ्यो । कतिपयले बुबालाई कपडा सिलाउन उनीहरुकै घरमा पनि बोलाउथें । म बुबासँगै जान्थें । तर कपडा सिलाइसकेपछि आफूले टेकेको जमिन गाइको गोबरले पोतेर फर्कनुपथ्र्यो । दलित मान्छे भन्दा गाइको गोबर उनीहरुका लागि पवित्र हुन्थ्यो ।

कस्ले भन्थ्यो दलित मान्छेभन्दा गाइको गोबर पवित्र हुन्छ भनेर ?

हिन्दु धर्ममा गाईलाई भगवानका रुपमा पुजिन्छ । गोबर गाईबाट आउने भएकाले दलितले टेकेको ठाउमा गोबरले पोत्नुपथ्र्यो ।

तपाईले सामनागर्ने प्रश्नहरु कस्ता छन् ?

नेपालमा जब कोही व्यक्तिसँग परिचय गरिन्छ, त्यतीबेला उसको जात सोधिन्छ । हेर्दा सबै उस्तै देखिन्छ, केही फरक छैन । जब उनीहरुले हाम्रो थर सोध्छन्, तब उनीहरुले तत्काल फरक तरिकाले व्यवहार गर्छन् । जब म फिल्डमा जान्थें तब मान्छेहरुले भन्थे ओहो, तपाई निकै सुन्दर हुनुहुन्छ, तपाईको जात के हो नि ? जब मैले मेरो थर परियार भएको बताउँथें, उनीहरुको अनुहारमा परिवर्तन आइहाल्थ्यो । उनीहरुले फरक तरिकाले व्यवहार गर्न थाल्ने । छोइएला भनेर परपर सर्थे । तर जब अमेरिका आएँ, मान्छेहरुले मलाई मेरो नाममात्र सोध्छन् । कहाँबाट आएको भनेरमात्र सोध्छन् । म बिष्णुमाया परियार भएको र नेपालबाट आएको जवाफ दिन्छु । कसैले मलाई जात सोध्दैनन् । कसैले पनि मेरो जात वा थरका कारण नराम्रो व्यवहार गर्दैनन् ।

तपाईले अमेरिकामा फरक जातको व्यक्तिसँग विवाह गर्नुभयो होइन ?
मैले विवाह गरेका मेरा श्रीमान् मेरो भन्दा फरक जातको हुनुहुन्छ । उहाँ म भन्दा कथित माथिल्लो जातको हुनुहुन्छ । उहाँ जनजाती परिवारको हुनुहुन्छ ।

तर विवाहपछि तपाईका श्रीमान्ले तपाईको थर लिनुभयो ?

यो मेरा लागि अत्यन्तै ठूलो सर्पराइज थियो । अमेरिकामा पनि श्रीमान्ले श्रीमतिको थर लिने चलन छैन । नेपाल जस्तो पुरुषप्रधान देशमा त यस्तो छँदैछैन । जब म विवाहको लागि क्लर्क अफिसमा गएँ, त्यतीबेला हामीलाई थर परिवर्तन गर्न चाहनुहुन्छ कि भनेर सोधियो । त्यतीबेला मेरा श्रीमान्ले सुरुमा आफ्नो नाम लेख्नुभयो, त्यसपछि आफ्नो नामको पछाडि मेरो थर लेख्नुभयो, अनिमात्र उहाँको थर लेख्नुभयो । यो मेरा लागि सबैभन्दा ठूलो सम्मान थियो । मेरा श्रीमान्ले मलाई मेरो भिजनमा सधै सघाउदै आउनुभएको थियो । म सहभागी भएको कार्यक्रममा पुगेर मलाई सहयोग गर्नुहुन्थ्यो । उहाँ पत्रकार हुनुहुन्छ । उहाँ हामै जीवनकालमा जातीय प्रथा अन्त्य हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।

अमेरिकाको केन्टकीको लुईभिल सहरमा सेप्टेम्बर २७ लाई बिष्णुमाया परियार डेका रुपमा मनाइने गरिन्छ, कस्तो अनुभव हुन्छ ?

म यो कुरा विश्वास गर्न पनि सकिरहेकी छैन । जसलाई पानी पनि छुन दिइदैन । म अहिले पनि सम्झन्छु कि म पानी पिउन नपाएर दिनभर तिर्खाएरै बस्ने गर्थें । मान्छेहरुले मलाई भाँडोमा पानी पिउन समेत दिदैनथें । मैले हातमा पानी थापेर पिउदा अत्यन्तै अपमानको महसुस गर्थें । त्यही केटी अमेरिकामा आएपछि केन्टकीको लुईभिलका मेयरले सिंगै दिनलाई नै बिष्णुमाया परियार डे मनाउने घोषणा गरे । मलाई म त्यही विष्णुमाया हुँ जस्तो पनि लाग्दैन, मैले आफैले नयाँ जन्म पाएजस्तो लाग्छ ।

यो पनि पढ्नुहोस्

विभेदबिरुद्धको बिगुल फुक्दै बिष्णुमाया

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com