अमेरिकामा नेपाल घन्काउनेहरु
प्रकाशित मिति : माघ २७, २०७४ शनिबार
-विष्णुप्रसाद पौडेल
सुन्दा साह्रै मिठो सुनिन्छ, एक थोपा पसिना भए पनि आफ्नै माटोमा बगाउनुपर्छ । कुनै जमाना थियो, आफ्नै माटोमा पसिना बगाएमात्रै देशप्रेमी भइन्थ्यो । राष्ट्रका लागि योगदान गरेको ठहथ्र्याे । सूचना र प्रविधिले मान्छेलाई देशका निम्ति योगदान गर्न भूगोलकै सीमाभित्र कैद हुनुपर्छ भन्ने मान्यता तोड्दिएको छ । त्यो समयले नेटो काटिसकेको छ । आज विश्वको जुनसुकै भूगोलमा बसेर पनि राष्ट्रका लागि प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्न सक्ने सम्भावना बनेको छ । नपत्याए, अमेरिका आएका नेपाली कलाकारलाई हेरे हुन्छ । हो, उनीहरु देशको भूगोल छोडेर त आएका छन्, तर तर वास्तवमा देश छोडेर आएका छैनन् ।
देश भनेको भूगोलमात्रै होइन भनेर त नेपालकै चर्चित राजनीतिकर्मीहरुले ऊ जमानामै भनेका हुन् । देश भनेको जनता हो, धर्म संस्कृति, परम्परा, रीतिरिवाज, भाषाभेष, कला लगायत थुप्रै थुप्रै चिजहरुको पहिचान हो । आज अमेरिका आएका कलाकारहरुले भूगोल छोडेका होलान् तर भाषाभेष र आफ्नो संस्कृति कहाँ छोडेका छन् र ? आज नेपालमै धन्कने थुप्रै गीतसंगीत जुन लोकप्रिय पनि भइरहेका छन्, ती सबै नेपालकै भूगोलमा बसेरमात्रै सिर्जना भएका होइनन् । त्यहाँ सजिलै भेट्न सकिन्छ, अमेरिकी भूमिमा सिर्जना भएका नेपाली गीतसंगीत ।
‘मन पर्ने एउटी साली छ
मान्छे त राम्रै हो अली काली छ’
कुनै बेला यो लोकगीत सिर्जना गरेर चर्चामा आएका अभय ढुंगेल यतिबेला अमेरिकामा छन् । अमेरिकामा रहेर उनी आफनो काममा मात्र सीमित छैनन् उनी नेपाली गीतिगेडाहरु खेलाउन पनि उत्तिकै व्यस्त रहन्छन् ।
‘अकबरी सुनलाई केलाई लाउनु कसी…’ त्यो गीत हो, जुन ढुंगेलले अमेरिकी भूमिमै सिर्जना गरेका हुन् । उनकै शब्द र संगीतको यो गीत सौखको मात्रै उपज हुन्थ्यो भने त्यति मिठो नबन्न पनि सक्थ्यो होला । उनले मन निचोरेर निकालेकै हुनाले धेरै नेपालीको मनमा बस्यो । त्यो गीतको कसी बनेर सन् २०१६ को इमेज अवार्ड देखाप¥यो । अवार्डले गीतलाई साँच्चै अकबरी सुनजस्तै अब्बल ठह¥यो ।
‘के भूल भो प्रिया, मसँग बोल्दिनौं….’ बोलको सुगमधारको गीत गाएर स्वदेशमै हिट बनेका नरेन्द्र प्यासी लामो समयको अन्तरालपछि फेरि अर्काे गीतबाट लोकप्रिय भए । ‘म त तिम्रो मान्छे बन्न सकिन, तिमीलाई आफ्नो मान्छे भन्न सकिन…’ बोलको गीत प्यासीको पुनरोदय गराउन सफल भयो । सन् २०१३ ताकाको यो गीत नेपाली भूमिबाटै प्यासीले नेपाली संगीतलाई सुम्पिएको उपहार थिएन । बिदशमा नै रहँदै उनले यो गीत नेपाली संगीत क्षेत्रलाई दिन सकेका हुन् उनले । कालिका एफएमबाट मात्रै होइन प्यासी विन्ध्यवासिनी अवार्डबाट पनि पुरस्कृत हुन सफल जो भए ।
प्यासी अमेरिकामा नै छन् उनले स्वर दिएका ४०० गीतमध्ये १०० वटा गीत विदेशमा नै भएको बेला स्वर दिएका हुन् । उनका अनुसार आफू विदेशमा भए पनि आफ्नो गीत संगीतले आफ्नो अभावलाई हटाउने बताँउछन् । उनी विदेश भएका बेला नै सन् २०१३ तिर छिन्नलता पुरस्कार पनि प्रप्त गरेका थिए ।
‘मन भमरा राइझुमा तमी भमरा’का गायक यम बरालले पनि विन्ध्वासिनी म्युजिक अवार्ड हात पार्न सफल भएका थिए । उनी विदेश बसेर नै २ दर्जनभन्दा बढी गीत मा स्वर दिएका छन् तर उनी विदेश भए पनि उनका गीत भने नेपाली बजारमा घन्किएका छन् ।
विदेशमा बसेर स्वदेशी वाद्यवादनका सामग्रीमा धुन भर्ने नेपाली कलाकारको सूची लामो छ । लोकगायक प्रेमराजा महत, सपना श्री, सञ्जीप प्रधान, सरिश्मा अमात्य, राजु लामा, मोहन भुसाल, रोशन गुरुङ, नलिना चित्रकार, पवन ओली, सृजन ताम्राकार, मीन दर्लामी, भगवान भण्डारी, सावित्री शाह, रामप्रसाल खनाल, रतन सुवेदी, हरिश माथेमा, सुमन बुढामगर, शान्ति भण्डारी, श्याम गुरुङ,श्याम नेपाली संगीता मुखिया, विश्व तेन्जिङ, पविता परियार, निर्मला भण्डारी, सरीता डाँगी, यम बराल, जगदीश समाल, ओम कर्माचार्य, नरबहादुर दाहाल, निशा सुनार, संगीता थापा मगर, मीन केसी, विकास बिस्ट, प्रकाश आचार्य, मीरा गुरुङ, धन लामा, शकुन ज्ञवाली, रमेश थापा, वसन्ती राई,न्युच्छेनारायाण डंगोल, गीता बिर्लाकोटी, प्रेम सेन्चुरी, राजेन्द्र राई, आङ्गेलु शेर्पा, तिलक श्रेष्ठ गणेश पराजुली, सिर्जना लामा , मीन दर्लामी मगर , आदिआदि थुप्रै नामहरु यो सूचीमा पर्छन् । यसमा लोकगीत संगीतका कलाकारमात्रै नभई सुगम र आधुनिक तथा पपगीतका कलाकार पनि छन् । कुनै बेलाका नेपाली संगीतका आइडलहरुले अमेरिका आएर पनि मादल, सारंगी, बाँसुरीका धुन बिर्सन सकेका छैनन् ।
त्यो सूचीमा छुट्न नहुने अर्का गायक हुन् विमल डाँगी । ३ सय गीत रेकर्ड गरेका डाँगीले अमेरिकामा नै बसेर करिब ३० वटा गीत गाए भने ४० गीत सिर्जना गरे । अमेरिकी भुमीमा सृजना भएका उनका गीत सङ्गितहरु नेपालको रेडियो टिभीमा दिनहु जस्तो घन्किने गर्छ । उनको गीत ले पनि २०७१ सालमा कान्तिपुर एमबाट सबै भन्दा बढि बजेका कारण पनि उत्कृष्ठ लोक गायकको रुपमा सम्मानित भएका थिए ।
नेपालमा रेकिर्डङ स्टुडियो नहुँदा कलकत्ता गएर नेपालीहरुले गीत रेकर्ड गर्थे । पछि रेडियो नेपाल र निजी रेकर्डिङ स्टुडियो खुले । त्यसपछि पनि भारत जान टुटेनन् कलाकार । मुम्बईमा थुप्रै नेपाली गीत रेकर्ड भएका छन् । आज भारतभन्दा बाहेक देश र खास गरी अमेरिकामा पनि नेपालीहरुले नेपाली गीत रेकर्ड गराइरहेका छन्, नेपाली गीत सिर्जना गरिरहेका छन् ।
संगीतकार तथा गायक कन्हैया सिंह अमेरिकामा गीत संगीत सिर्जना गरिरहन्छन् । रेकर्डका लागि भने नेपाल पनि पुगिरहन्छन् । विनोद रोकाले रचेको ‘मुटुमा पीडा भए पनि कहिलेकाहीँ हाँसी दिन्छु..’ म्युजिक खबर अवार्ड पाउन सफल त्यस्तो गीत हो, जुन अमेरिकामा जन्मियो । लोक गायक रामप्रसाल खनालले पनि केही बर्षको अन्तरालमा नेपाल गएको बेला अमेरिकामा नै सृजना गरेको गीत जुन नेपालमा रेकर्ड गराएको तीज गीतले पनि यो बर्ष एवार्ड पाँउन सफल भएको थियो । सपना श्री तथा जगदिश समाल पनि अमेरिकामा नै नेपाली गीतहरु सृजना गरी स्वदेशका रेडियो टिभीमा घन्काउने कलाकारहरुमा अग्रस्धानमा पर्दछन् ।
गायिका अन्जना गुरुङ, सपना श्री, गम्बु शेर्पा पनि अमेरिकामा बसेर नेपाली गीतसंगीतलाई धेरै योगदान गर्ने कलाकारको सूचीमा पर्छन् । गम्बुले त अमेरिकामै बसेर ७० वटा नेपाली गीतमा स्वर भरिसके । धेरै थरी अवार्ड उनका पोल्टामा पनि परेका छन् । गम्बु शेर्पा सेलो सगै आधुनिक शेर्पा भाषाको तथा , पप लगायतका गीतमा उनी लागी परेका छन् । उनीजस्तै सन्जोग लामा पनि सेलो संगीत लिएर अमेरिकामात्रै होइन, देशदेशावर घुमिरहन्छन् ।
बिदेशमा बसेर पनि नेपाली सङ्गितको योगदान गरेका यी कलाकारको पक्कै पनि नेपाली मन भएका सबैले सम्मान गर्ने छन् ।