अपराध नगरेका कागजपत्रविहिनलाई पक्रने क्रम ट्रम्प कार्यकालमा दोब्बर
प्रकाशित मिति : माघ २९, २०७४ सोमबार
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अपराध नगरेका कागजपत्रविहिनहरुलाई पक्राउ गर्ने क्रम ओबामा कार्यकालको तुलनामा झण्डै दोब्बर भएको छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ओबामा कार्यकालको अन्तिम आर्थिक बर्षको तुलनामा ट्रम्प कार्यकालको पहिलो बर्षमा ४० प्रतिशत बढी अपराध नगरेका कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ ।
आइसले आर्थिक बर्ष सन् २०१७ मा ३७ हजार ७ सय ३४ जना अपराध नगरेका कागजपत्रविहिनहरुलाई नियन्त्रणमा लिएको छ, जुन अघिल्लो बर्षको तुलनामा ४० प्रतिशतले बढी हो । अमेरिकामा रहेका कागजपत्रविहिन आप्रवासीहरु जसको दोष कागजपत्रविहिन हुनु बाहेक अरु कुनै थिएन, उनीहरुलाई ओबामा कार्यक्रालमा पक्राउको प्राथमिकतामा राखिएको थिएन । तर अब उनीहरुलाई पनि पक्राउ गर्न थालिएको हो ।
आइसले आर्थिक बर्ष सन् २०१७ मा १ लाख ५ हजार ७ सय ३७ जना अपराध गरेका कागजपत्रविहिनलाई नियन्त्रणमा लिएको छ । जुन अघिल्लो बर्षको तुलनामा केही बढी छ । उनीहरु लाइसेन्स विना गाडी चलाएका, अमेरिकामा गैर कानुनीरुपमा छिरेका देखि गम्भिर प्रकारका अपराध गरेकाहरुसम्म रहेका छन् ।
अमेरिकामा १ करोड १० हजारको हाराहारीमा कागजपत्रविहिनहरु रहेको बताइदै आएको छ । तर आइससँग बर्षमा झण्डै दुईलाखलाईमात्र देशनिकाला गर्न सक्ने साधनश्रोत रहेको छ ।