जीवनका लागि आईसीयुमा संघर्ष गर्दै अमेरिकामा एक नेपाली विद्यार्थी, सहयोगको अपिल
प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार
नेपालबाट अमेरिकामा अध्ययनका लागि आएका २० बर्षका अंशुल राज आचार्यलाई औषधीको एलर्जिक प्रतिकृयाबाट लाग्ने घातक रोग लागेपछि उनको जीवन बचाउन सहयोगको अपिल गरिएको छ । टेक्सासको ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत आचार्यलाई टक्सिक एपिडर्मल नेक्रोलिसिस भन्ने रोग लागेको हो ।
सामान्य रुघाखोकीपछि एन्टिबायोटिक औषधी लिएका उनको शरिरको ७५ प्रतिशत भागमा जलेको जस्तो दाग देखिएपछि उनी उपचारका लागि अस्पतालमा गएका थिए । त्यसपछि डाक्टरले उनलाई टक्सिक एपिडर्मल नेक्रोलिसिस लागेको पत्ता लगाएका थिए । ह्युष्टन टेक्सासको अस्पतालमा उपचारका लागि खाली स्थान नभएपछि उनलाई प्लानो टेक्सासमा भर्ना गरिएको छ । उनलाई आईसीयुमा राखिएको छ भने थप दुई तीन महिना आईसीयुमा राख्नुपर्ने डाक्टरहरुले बताएका छन् ।
अंशुलको सहयोगका लागि गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिएको छ । २० हजार डलर लक्ष्यसहित सुरु गरिएको सहयोग संकलन अभियानमा अहिलेसम्म ८ हजार ३ सय डलर संकलन भइसकेको छ । संकलित रकम अशुंलको बैंक खातामा सिधै जम्मा हुने बताइएको छ ।