सस्तो लोकप्रियता कमाउन फेसबुकमा विरोध !


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

– रुद्र ढकाल हलोवाला

पक्कै पनि बीसौं शताब्दीको महान विचारक कार्ल मार्क्स थिए जुन अकाट्य छ। किनकि विश्व उनकै बिचारले तरंगित भयो। त्यही बिचारले शोषित पिडित मानिसहरुको आँखा खोलिदिएर शोषक जारहरुलाई समेत जर्फेदै लाएर उखेल्ने गरी ठूला ठूला क्रान्तिहरु सम्पन्न भए। ढिलै भए पनि हामीहरु उनकै सिद्दान्तको पछि लाग्यौं र निरंकुश तानाशाहीलाई फुर्लुक्क उखेल्यौं। अब पालो शान्ति र बिकासको। मानब समुदायको हित र परिबर्तनको लागि ठूला ठूला बिचार र सिद्दान्त कै कुरो गर्ने हो भने अरुभन्दा पनि ठूलो महान विचारक त आज भन्दा २५८१ वर्ष पहिल्यै नेपाल मै जन्मेका रहेछन् जुन कुराको हेक्का सम्म हामीहरुले राखेनौं तर अब भने गहीरो संग मनन् गर्नु जरुरी छ, नेपालको दिगो शान्ति र बिकासकोलागि ।

जसरी एउटा कस्तुरी आफ्नै बीना भित्र भएको अत्तरको बासना आफ्नै शरीर भित्रबाट आएको हो भन्ने पत्तो नपाएर बाहिर बाहिर खोज्दै रनबन टाढा टाढासम्म भौंतारीन्छ, त्यसरी नै हामी नेपालीहरु बिचार र दर्शनको खडेरीको भोकले कहिले उत्तर त कहिले दक्षिणतिर दौडेर भौंतारीई रहेका देखिन्छौं । हामी राष्ट्रियताको कुरा गर्छौं। अनि बिदेशबाट आयातित बिदेशीको सिद्दान्तलाई नेपाली ट्याग झुण्ड्याएर अरु कसैको कुरा नसुनी अन्धभक्त भई निर्लिप्त भएर बस्छौं। जस्तै कांग्रेशको अगाडी ‘नेपाली’ शब्द जोडेर नेपाली कांग्रेश बनाइरहनु, कम्युनिष्ट पार्टीको अगिल्तिर ‘नेपाल’ थपर कम्युनिष्ट पार्टीलाई नेपालीकरण गर्न खोज्नु आदि यसैको उदाहरण हो भने अर्को तिर हामी आफ्नै भूमिमा जन्मिएर दुई तिहाई विश्वलाई कन्भिन्स गरेर मनाउन सफल मानवताको महान सिद्दान्तकार महा-मानबको बिचार र दर्शनलाई चटक्कै बिर्सन्छौं।

प्रसङ्ग समाजबादी सिद्दान्त र प्रयोग कै कुरा गर्दा भर्खरै नेपालका एउटा दर्शन शास्त्रको अनुरागी साधक दर्शनशास्त्री/समाजशास्त्री बैज्ञानिक जो हिंजो मार्क्स, लेनिन र माओको पश्चिम, पूर्ब देखि उत्तरसम्म सर्बत्रतिरको दर्शनले दीक्षित भएर क्रान्ति सफलपारी समाजको कायापलट गर्छु भन्दै नेपालमा हत्या हिँसाको रक्तपातपूर्ण क्रान्तिको अगुवाई गर्दै हिंडे, तर आज उनले ढिलै भए पनि आफ्नो ज्ञानको चेत खोले। उनले आज भन्दा २५८१ वर्ष पहिले नै आफ्नै देशमा जन्मेका महान विचारक गौतम बुद्दलाई बिस्तारै चिन्न थालेका छन् जुन एकदमै सह्राहनीय कुरो हो। आखिर “बुद्दम शरणं गछामी” भन्दै जतिसुकै मूर्ख र पापी जे जस्तो मान्छे भए पनि बुद्दको शरणमा जो कोही जान सक्छ।

यसै शिलशिलामा उनले बिश्व राजनीतिलाई अनुप्रेरित गर्ने गरी “थ्योरी अफ एभ्रीथिङ्” भने जस्तै सबै सिद्दान्तको राम्रो सार समिश्रण र अनुशरण गर्नेगरी तेश्रो राजैनीतिक धारको बिकास गर्दै आफ्नो जिन्दगीभरको राजनीतिलाई नयाँ मोड दिएका छन्। नयाँ शक्तिको लुम्बिनी महाधिबेशनले यही संदेश दिएको छ। त्यसमाथि आजको हज्जारौं मानिसहरुले टुँडिखेल मैदानमा जम्मा भएर संसारको ध्यान खिच्दै बुद्द नेपालमै जन्मेका हुन् भनी बुद्दको सम्यक सिद्दान्तलाई विश्व सामु प्रचार गर्नु पनि यसैको निरन्ततरता हो। जुन देशको दिर्घकालीन बिकास र बैदेशिक लगानी अनि पर्यटनको हिसाबले अत्यान्तै महत्वपूर्ण छ।

लुम्बिनी महाधिबेशन आफैंमा एउटा ज्यादै राम्रो बुद्द संकल्प हो । राजनैतिक संकल्प भनेको यस्तो हुनु पर्दछ। के तपाईं हामीहरुले अंगालेको अरु पार्टीहरुले कहिल्यै आफ्नो महाधिबेशनमा यस्तो राम्रो सम्यक संकल्प गरेको थाहा पाउनु भएको छ त? छ भने कृपया आउनुहोस् बहस गरौँ।

नेपालको दीर्घकालीन बिकास र सम्बृद्दिको हिसाबले ऐतिहासिक महत्व राख्ने लुम्बिनी महाधिबेशनको सम्यक संकल्पहरु यस प्रकार छ:

“आज भन्दा २५८१ वर्ष अगाडी गौतम बुद्दले भन्नुभएको थियो: (मानब जातिलाई) दु:ख छ, दु:खको कारण छ, दुखको निवारण छ। ज्ञान शील र समाधीको अष्ट मार्ग बाट दु:खको निराकरण गर्न सकिन्छ। आज नयाँ शक्ति पार्टी नेपाल बुद्द भूमिबाट यो उदघोष गर्छ कि: देशमा समस्या छ, समस्याको कारण छ, समस्याको निवारण छ। पाँच ‘स’ को मार्गबाट समृद्द नेपाल निर्माण गर्न सकिन्छ। यो महान लक्ष्य हासिल गर्न हामी नयाँ शक्ति पार्टी नेपालका सम्पूर्ण अभियान्ताहरु निम्न प्रतिज्ञा गर्दछौं:

१. नेपाली जनताको सुख, समृद्दी र खुशी बाहेक हाम्रो अर्को कुनै राजनीतिक स्वार्थ छैन। राजनीति हाम्रालागि मानवताको सेवा गर्ने माध्याम हो, पेशा ब्यबसाय हैन। सत्ता, शक्ति, पैसा, पद र व्यक्तिगत प्रतिष्ठाको छुद्र स्वार्थ पूर्तिको माध्याम राजनीतिलाई कहिल्यै बनाउने छैनौं।

२. नयाँ शक्ति पार्टीका स्थापना कालीन उद्देश्यहरु हामी कहिल्यै भुल्ने छैनौं। स्वाधीन, समाबेशी, सु-शासित, समृद्द र समाजबादी नेपाल निर्माण गर्ने लक्ष्य नै हाम्रो राजनीतिक जीबनको मुख्य लक्ष्य हुनेछ।

३. नेपाल समृद्दीकरणको नयाँ चरणमा प्रवेश गरेको छ। नयाँ शक्ति पार्टी नेपाल समृद्दीको नयाँ चरणको नेतृत्व गर्न बनेको पार्टी हो। नयाँ युगको नयाँ आवश्यकतालाई पूरा गर्न हामी आफैं नब मानब बन्नेछौं। हाम्रो पार्टी नयाँ युगको नेतृत्व गर्ने नयाँ सोंच, शैली र ढाँचाको पार्टी हुनेछ। यस्तो पार्टी निर्माण गर्न आवश्यक पर्ने जस्तोसुकै त्याग योगदान र बलिदान गर्न सदैब तत्पर रहनेछौं।

४. हामी न कहिल्यै भ्रष्टाचार गर्ने छौं न अरु कसैले गरेको भ्रष्टाचार सहने छौं। हाम्रो सार्बजनिक पार्टीगत तथा व्यक्तिगत जीबन संधैं स्वच्छ, सदाचारयुक्त, नैतिक र पारदर्शी हुनेछ। गौतम बुद्दको सम्यक जीविका उपदेशले हामीलाई संधैं अनुप्रेरित गर्नेछ। हामी संधैं उद्यमशील बन्ने प्रयत्न गर्नेछौं।

५. हाम्रो दृढ बिश्वास छ कि पूँजीबाद कि साम्यवाद भन्ने बीसौं शताब्दीको बैचारिक ध्रुबीकरणको चरण अन्त्य भैसकेको छ। समाबेशी तथा सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजबादमा आधारित तेश्रो बैचारिक राजनीतिक ध्रुबको निर्माण नै यतिखेरको सम्यक दृष्टि सम्यक संकल्प हो। तसर्थ हामी कांग्रेस वा कम्युनिष्ट नामधारी परम्पराबादी दलहरुले छर्ने कुनै भ्रममा पर्ने छैनौं। नयाँ युगको आवश्यकता पुराना शक्तिहरुबाट पूरा हुन सक्दैन भन्ने कुरामा हामी दृढ छौं। ती दुवै धार भन्दा अग्रगामी बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न कुनै कसर बाँकी राख्ने छैनौं। बुद्द यो पनि भन्नु हुन्थ्यो: “एउटा बलेको दियोले हजारौं द्वीपहरु जलाउन सकिन्छ।” नयाँ शक्ति नेपाल पार्टी भन्छ, पार्टीका प्रत्येक अभियान्ता आफैंमा बलेका एक दियो हुन्। हजारौं नयाँ द्वीपहरु जलाउने छौं।”

यसर्थ महान विचारक, शान्तिका अग्रदूत, गौतम बुद्द नेपालमा जन्मेका हुन् भनी आज नेपालमा भएको हज्जारौं मानिसहरुको प्रदर्शन र प्रचारात्मक कार्यक्रम गल्ति हो, “यसैगरी भोली भारतले पनि करोडौं मानिसहरु उतारेर बुद्द भारतमा जन्मेका हुन् भनी अनर्गल प्रचार गरी अर्को विश्व रेकर्ड राख्यो भने के गर्ने?” भनी कु-तर्क गर्नेहरु कु-मान्छे हुन्। अझ यी शान्ति र बिकास बिरोधी हल्लूँडा हुन्, मान्छेका भाँडो होइनन्। यिनीहरु आफुलाई सस्तो लोकप्रिय पात्र या फोगटमा फेसबुक फेम बनाउने ढोंगी मात्र हुन्। यदि कसैले राम्रो काम गर्यो भने सकभर स्याबास् सम्म कन्जुस्यांईं नगरी भनौं नसके चूप लागेर बस्दा राम्रो।

लेखक

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com