राष्ट्रवाद भनेको राष्ट्रवाद हो, जोक होइन


प्रकाशित मिति : श्रावण १४, २०७३ शुक्रबार

काठमाडौंको बशन्तपुरमा अनुहारमा नेपालको राष्ट्रीय झण्डाको तस्विर पोतेकी एक बालिका । फोटो : डिप्रिभ्यु डटकम

Bhupendra Article– भूपेन्द्र थापा

यतिवेला घरदेश नेपालमा राजनीतिक रडाको छ । जर्वजस्त राजिनामा गर्न बाध्य पारिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नयाँ सरकारको पर्खाइमा छन् । सर्वत्र लोकप्रिय रहेका ओलीको बर्हिगमनलाई अधिकांश नेपालीले दुःख मनाउ गरिरहेका छन् र किंकर्तब्यविमुढ छन् । किनकी संसदिय राजनीतिमा बहुमत पुर्याउनेले सरकार बनाउछ । जे गर्छन तिनै दल र दलका सांसदहरुले गर्छन् । र नेपालमा यतिबेला यस्तो परिस्थिति सिर्जना भएको छ की कुनै पनि सांसदहरुले आफ्नो स्वनिर्णय गर्न सक्दैनन् । किनकी दलिय व्यबस्थामा दलको प्रमुख नेताले जता डोर्याउँछ उतै भेडाबाख्राजस्तो पछि लाग्नुपर्ने ब्यबस्था छ । नत्रभए अहिलेको जस्तो विषम परिस्थिति देखा पर्थेन होला ।

हल्का टिकाटिप्णी र उखानटुक्का सहितको भाषणका कारण विगतमा टुक्के भन्ने छवि भएका हालका प्रधानमन्त्री केपीओली कहिल्यै पनि टेष्टेड थिएनन् । र उनको त्यही भाषण शैलीकै आधारमा मानिसहरुले पनि हल्कै रुपमा लिएका थिए । तर जवजव उनी प्रधानमन्त्री चुनिए तत्पश्चात पनि उनले आफ्नो शैली छोडेनन र त्यसको केही समयसम्म आलोचना नै भइरहेको थियो । तर समयक्रममा जव उनले आफ्नो उही शैलीमा तर दुरदृष्टीका कुरा राष्ट्र विकासका कुरा गरे र गरिरहे अनि त्यस्ता दुरगामी महत्वको केही कामको थालनी नै गरेर देखाउन थाले तव भने जनता उनको पक्षमा सर्लक्कै उल्टन थाले । विशेष गरी पढेलेखेका युवा जमातले पनि उनको भिजन र राष्ट्रप्रेमलाई नजिकैबाट खुट्टयाउन थाले । किनकी केपी ओली यस्तो वेलामा प्रधानमन्त्री भएका थिए जतिबेला आफ्नो इच्छा विपरित नेपालमा संविधान जारी भएपछि त्यसको झोकमा भारतले मधेशी दलहरुको आवरणमा सिमानामा नाकाबन्दी गरेको थियो । र परिस्थिति यस्तो थियो कि तत्कालिन प्रधानमन्त्री शुशिल कोइराला लगायत कांग्रेस पार्टीले नाकावन्दीको न सम्म पनि उच्चारण गरिरहेका वा गर्न सकिरहेका थिएनन् ।

तर जवजव केपी ओली प्रधानमन्त्री भए । भूकम्पका कारण थिलथिलो भएको नेपाल र गाँस बास कपासको अभावमा रहेका नेपाली नाकावन्दीका कारण झनै मारमा परेका थिए । र पनि डराइरहेका थिए कि सरकारले केही अप्रिय सम्झौता पो गर्ने हो की भनेर । किनकी त्यतिवेलासम्म केपी ओली पनि भारतसंग निकटस्थ झन भन्ने नै थियो भलै उनि भारतको इच्छाविपरित नै प्रधानमन्त्री चुनिएका थिए । अनि त्यस्तो विषम अभावका विच पनि जनता भनिरहेका थिए खवरदार सरकार भोकै मर्न तयार छौ तर देशको अहितमा कुनै काम नहोस् । तर आशंका विपरित प्रधानमन्त्री ओलीले जनआकांक्षानुरुप नै काम गरे । अलिकति पनि नडगमगाइकन नाकाबन्दीसंग मुकाविला गरिरहे गरिरहे । र करिव तीन महिनापश्चात गलित भएर भारत आफैले नाकाबन्दी खोल्न बाध्य भयो । हो यही नै मुख्य कारण थियो प्रम ओली लोकप्रियताको । तत्पश्चात उनले हावाबाट विजुली, घरघरमा – चुलाचुलामा ग्याँस, महासागरहरुमा नेपाली झण्डा सहितको पानीजहाज, मुखचुच्चे मेट्रो रेल जस्ता भिजनरी कुराहरु उनकै शैलीमा गरे र केही पटमुर्खहरुले राम्रैसंग उडाए र अझै उडाइ नै रहेका छन र भनिरहेका छन् । खै त जहाज ? खैत रेल ? खैत ग्याँस ? हो समस्या यही छ । ओलीले बाचन गर्ने वित्तिकै भुइमा टुप्लुक्कै भइहाल्ने कुराहरु हैनन यी । यी त दृष्टीका कुरा हुन । चक्षु हुन्छ नी दिव्यचक्षु । खुल्नुपर्यो नी तव न शुरु हुन्छ । र त्यसका लागी समय लाग्छ ।

उनले कुरामात्रै गरेनन जतिकुरा उनले बोले ती सवै भविष्यमा पुराहुने गरी काम पनि शुरु गरे । सोही अनुरुप बजेट ल्याए । चीनसंग विभिन्न सन्धि सम्झौता गरे र अझै लोकप्रियताको शिखर चढदै रहे । तर यो कुरा प्रतिपक्षी कांग्रेस, भारत अनि कथित मधेशी दल कसैलाई पनि मन परेन र उनिहरुको एउटै ध्याउन्न थियो कसरी सरकार ढाल्ने । नत्र तिनिहरको उठीबास लाग्ने संभावना बढीरहेको थियो । यसैले अन्ततः सरकारको प्रमुख सहयात्री दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई ललिपप देखाएर सरकार ढाली छाडे ।

अनि अझै कांग्रेसीहरु तर्क गरिरहेका छन । संसदमा बहुमत जसले पुर्याउँछ उसले शासन गर्छ । सैद्धान्तिक कुरा त यही हो । तर त्यसो भन्दैमा दुईदुई महिनामा सरकार परिवर्तन गर्नु कति राम्रौ हो । अनि भारतको एस म्यान नबन्ने भनेर समयक्रममा हुँकार गर्ने माओवादी अध्यक्ष प्रचण्डको राष्ट्रवाद र क्रान्तिकारिता पनि यतिबेला नराम्रैगरी नाङ्गीएको छ । पार्टीका आफ्नै नेता बाबुराम भट्टराईलाई जहिल्यै पनि भारतपरस्त भनेर वा देखाएर पार्टीभित्र एकछत्र राज गर्दै आएका र अन्ततः पार्टीबाट निस्कन बाध्य पारेका चतुर प्रचण्ड कतिसम्म लालुपाते रैछन भन्ने यसपटक जनताले राम्रोसंग देख्न पाएका छन् ।

देशभन्दा ठुलो कुरा अरु हुदैन । भन्नलाई त भनिन्छ भोको पेटले राष्ट्रवाद भन्दैन भनेर तर नेपालीहरुलाई त्यो सवैभन्दा पहिले भएको देखिन्छ । नत्रभने अहिले ‘आइम वीद केपी ओली’ भनेर युवाहरु सडकमा उत्रिय झै वा सामाजिक संञ्जालहरुमा ट्रेण्ड वनेझै कुनैवेला डा. भट्टराइको पक्षमा पनि यस्तो जनउभार थियो ‘गरिखान देउ, बाबुरामलाई काम गर्न देउ’ भनेर ट्रेण्ड बनेको थियो । तर उनी राष्ट्रवादको कसीमा खरो उत्रन सकेनन । नत्रभने उनले पहिलोपटक अर्थमन्त्री भएर देखाको पर्फमेन्सका कारण आम जनता उनको पक्षमा थिए र मानिसहरु अहिले पनि उनमा भिजन र खुवी रहेको स्वीकार्छन ।

अनि कथित मधेशवादी लगायत नेपालको जो पनि अलिकति राष्ट्रवादी लिडर देखापर्छ तव सवै एकजुट भएर न्वारानदेखीको बल लगाएर उसको विरोधमा उत्रन्छन । र भन्छन महेन्द्रिय राष्ट्रवाद, संकिर्ण राष्ट्रवाद आदिआदि । राष्ट्रवाद भनेको राष्ट्रवाद हो । यो जोक होइन । तर कतिपय भुइफुट्टाहरुको तर्क देख्दा अजिव लागेर आउछ । अनि उनिहरु नै आफुलाई सच्चा क्रान्तिकारी, प्रजातन्त्रवादी परिवर्तनकारी विकासप्रेमी भन्ठान्छ । मानौ यो सवै उनिहरुकै ठेक्का हो । उनिहरुले गर्ने सनातनी भ्रष्टाचार, बेथिति र विग्रह नै असली राष्ट्रवाद हो । त्यो चाही महेन्द्रिय पनि हुन्न । सङ्किर्ण पनि हुन्न । अनि ओलीय पनि हुन्न । त्यो चाही शुद्ध । वाह ! मेरो देश अनि मेरो देशका असली प्रजातन्त्रवादी !

यहाँ पार्टी, वाद, सिद्धान्त । यो त्यो । छोडदिउ सव कुरा । देखिसक्यो सवै । प्रचण्डको शुरुङयुद्ध अनि क्रान्तिकारिता । देउवाको प्रजातन्त्र । अव भने गजपै हुने भो । मानिसलाई समयले एकपटक अवसर दिन्छ र त्यो बेला पुष्टि गरेर देखाउन सक्नुपर्छ अनि मात्रै त्यो लोकप्रियताको शिखरमा पुग्छ र त्यो नै हुन्छ असली राजनेता । जुन ओलीले गरेर देखाए । पुष्टि गरे की उनी असली नेपाली नेता हुन भनेर । पछि केही गलत गरे भने त्यही वेला भनौला । तर मान्छेले राम्रो गरेको जस पाउनैपर्छ । परिस्थितिले बनाएकै हो ओलीलाई ‘राजनेता’ । जसले जानेबेला पनि हाँसीहाँसी शिर ठाडो गरेर जान सक्यो ।

(यो खसोखास सम्पादक थापाको व्यक्तिगत विचार हो, खसोखासको सम्पादकीय धारणा होइन ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com