मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की


प्रकाशित मिति : जेष्ठ २, २०७५ बुधबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति आज प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ ।

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले बचाउ गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको अभिव्यक्ति दिनुभएको थियो ।

बैठकमा संघीय समाजवादी फोरमका रामआशिष यादवले मुख्यमन्त्रीले प्रदेशको गरिमा र जनताको भावनाअनुसार बोलेको भन्दै यसमा टीका टिप्पणी नगर्न आग्रह गर्नुभयो । उहाँले मुख्यमन्त्रीको भनाइप्रति भइरहेको टीका टिप्पणी तर्कसंगत नरहेको बताउनुभयो ।

राजपा नेपालकी डिम्पलकुमारी झाले मुख्यमन्त्रीको अभिव्यक्ति प्रदेश २ को जनताको पक्षमा रहेको बताउँदै यसप्रति टाउको नदुखाउन केन्द्र सरकारलाई आग्रह गर्नुभयो ।

काँग्रेसका शिवचन्द्र चौधरीले मुख्यमन्त्री राउतको अभिव्यक्ति राष्ट्र हीतमा नभएको बताउँदै “गाजल आँखामा लगाउँदा राम्रो देखिन्छ, त्यही गाजल अनुहारमा लगायो भने कालोमोसो हुन्छ,” भन्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com