शान दाईको सम्झना
प्रकाशित मिति : कार्तिक १२, २०७३ शुक्रबार
किशोर पन्थी
सन् २०११ को सेप्टेम्बरमा म्यानहटनको एउटा रेष्टुराँमा मलाई डिनर मिटिङको लागि बोलाइएको थियो । ज्याक्सन दाई (कृष्णप्रसाद न्यौपाने) ले त्यो मिटिङको लागि बोलाउनुभएको थियो । बेलुकी ७ बजेको लागि मलाई बोलाइएपनि म निर्धारित समयभन्दा केही ढिलो पुगें । मलाई लिन रेष्टुरेण्टको बाहिरसम्म ज्याक्सन दाईसँगै अर्का एकजना शालिन व्यक्तित्व आउनुभएको थियो, उहाँ नै हुनुहुन्थ्यो शान खड्का । शान दाई ( त्यो भेटघाटपछि म सधै दाई भन्छु ) सँग मेरो पहिलो औपचारिक भेटघाट त्यही नै भएको थियो ।
हुन त त्यो भन्दा अगाडि मैले उहाँलाई अगस्तको २० मा न्युयोर्कको क्वीन्समा सम्पन्न मिस नेपाल अमेरिकामा पनि देखेको थिएँ, तर त्यहाँ हाम्रो औपचारिक चिनजान र कुराकानी हुन पाएन ।
पहिलो पटकको औपचारिक भेटघाटमा उनी सर्ट र जिन्समा निकै फुर्तिलो देखिनुहुन्थ्यो । हामी रेष्टुरेण्टभित्र छिरेर कुराकानी सुरु गर्यौं । उनले आफूले अमेरिकामा रहेको नेपाली समुदायका लागि काम गर्न चाहेको बताउनुभयो । मैले समुदायका मिलेर काम गर्न सकिने वचन दिएँ । उनले मसँग मिलेर काम गर्न आफु इच्छुक रहेको बताए । मैले पनि उनीसँग काम गर्न पाउनु आफ्ना लागि पनि खुशीको कुरा भएको बताएँ । पहिलो भेटघाट हामीले मुलत चिनाजानी र परिचयमा नै टुंग्यायौं ।
त्यसपछि हाम्रो दोश्रो भेटघाट म्यानहटनमा रहेको उनको कार्यालयमा भयो । त्यहाँ हामीले केही मूर्त विषयमा छलफल चलायौं । नेपाली समुदायका लागि शशक्त र नौलो संचारमाध्यमको स्थापना गर्न सकिने विषयमा कुराकानी गर्यौं । हाम्रा अरु केही भेटघाट लगत्तै हामीले सन् २०११ को नोभेम्बरमा न्युयोर्कबाट नेपाली भाषाको चौबिस घण्टे टेलिभिजनको स्थापना गर्ने निर्णय गरेका थियौं । त्यो निर्णय गर्दा शान दाई र मसँगै ज्याक्सन दाई पनि हुनुहुन्थ्यो ।
चौबीस घण्टे टेलिभिजन संचालनको निर्णय त गरियो, तर त्यो कसरी संचालन गर्ने भन्ने कुनै मुर्त योजना बनिसकेको थिएन । निर्णय लगत्तै ज्याक्सन दाईपनि इन्डिया फर्किसक्नुभएको थियो । टेलिभिजन संचालनको योजनालाई मूर्तरुप दिने जिम्मा मेरो काँधमा आएको थियो । जसका कारण कैयन रात म राम्रोसँग निदाउन पनि सकिन । अमेरिका आएको डेढवर्ष पनि नबित्दै मेरो काँधमा आएको यो जिम्मेबारी निकै बोझिलो थियो तर पनि मैले त्यो बोझ उठाउने हिम्मत गरें ।
मैले तुरुन्तै न्युयोर्कका सर्ट मुभी बनाउँदै आएको नेपाली युवाको एउटा समुहलाई भेटेर क्यामेरा र प्राविधिक पाटोको बारेमा छलफल गरें । उनीहरु कम गर्न तयार भए । प्राविधिक टिमको सहयोगमा हामीले आवश्यक उपकरणहरु पनि किन्यौं । शानदाईले पनि यी भेटघाटहरुमा आवश्यक सल्लाह दिदै आउनुभएको थियो । टेलिभिजनका लागि आईडी निर्माणका लागि म्युजिक बनाउनका लागि शान दाई र म कैयन दिनसम्म न्युयोर्कमा रहेका म्युजिसियनहरुका ढोकाहरुमा पनि चहार्यौं । अन्तत अनलाइनबाट म्युजिक किनेर हामीले टेलिभिजनको आईडी निर्माण गर्यौं । त्यसपछि सन् २०११ को नोभेम्बरबाट हामीले टेलिभिजनको परिक्षण प्रशारण सुरु गर्यौं, अनलाइनमार्फत चौबीसै घण्टा ।
परिक्षण प्रशारण सुरु गर्ने बेलामा टेलिभिजनको टिममा शान दाई र ममात्रै थियौं, साथमा थियो एउटा सानो प्राविधिक टिम । त्यसपछि मैले सूर्य थापा, शैलेश श्रेष्ठ, दिपु भुसाल, रोजन श्रेष्ठ लगायतका कैयन साथीहरुलाई टेलिभिजनको टिममा आउनका लागि प्रस्ताव गरें । केही साथीले पार्ट टाइम काम गर्ने सहमति जनाउनुभयो भने केहीले फूल टाइम । अन्तत हामीले सन् २०११ को डिसेम्बर १७ मा अमेरिकाका लागि नेपाली राजदूतको उपस्थीतिमा औपचारिक रुपमा नियमित प्रशारणको उद्घाटन गर्यौं । यात्रा सुरु गर्न जोखिमपूर्ण थिएन, यात्रालाई अगाडि बढाउन जोखिमपूर्ण थियो । यसै दौरान हामीले कैयन व्यक्तिलाई भेटेर टेलिभिजनमा कार्यक्रम संचालनका लागि प्रस्ताव गर्यौं । केहीले स्वीकारे, केहीले अस्वीकार गरे । जसजसले स्वीकारे उनीहरुसँग मिलेर हामी अगाडि बढ्यौं ।
टेलिभिजनको औपचारिक प्रशारण आरम्भ भएको एकमहिनामा नै हामीले साप्ताहिक पत्रिका निकाल्न सुरु गर्यौं । सुरुमा टेलिभिजनको प्रोमोशनका लागि निकालिएको ह्वाइटहिमाल साप्ताहिक पछि पाठकमाझ यति लोकप्रिय भयो कि हामीले त्यसलाई निरन्तरता नदिई सुखै पाएनौं । टेलिभिजन र पत्रिकाको बोझ हाम्रा लागि निकै गह्रौ थियो । तर पनि शान दाईको भरोसामा मैले त्यो बोझ उठाउने हिम्मत गरेको थिएँ, अन्य कैयन साथीहरुको साथ र सहयोगमा ।
कैयन दिन शान दाई र म पत्रिका बोकेर हिडेका छौं । कैयन दिन बिहानै चारबजे उठेर शान दाई पत्रिका लिन प्रेसमा जानुहुन्थ्यो । म्यानहटनमा बिजनेश गरेर शानसँग बसिरहनुभएका शान दाईले पत्रिका बोकेरमात्र हिड्नुभएन, आफ्ना एकमात्र छोरालाई पत्रिका बाँड्ने काममा समेत लगाउनुभएको थियो । यसबाट उहाँको टेलिभिजन र पत्रिकाप्रतिको समर्पणभाव स्पष्ट हुन्थ्यो । उहाँको समर्पणभाव र काम गराईको शैली मेरा लागि पनि कैयन कुरा सिक्ने पुस्तक बनेको थियो ।
शान दाई र मबीचको सम्बन्ध बडो आत्मिय थियो । उहाँले आफूलाई गणेश भगवानले भाई पठाइदिएको भन्नुहुन्थ्यो, मलाई । गणेश भगवानको विशेष भक्त शान दाईले मलाई निकै माया गर्नुहुन्थ्यो । म काम गरिररहदा कैयन पटक आफैले कफी बोकेर ल्याइदिनुहुन्थ्यो । हामी बारम्बार डिनर र लन्च खान जाने गथ्र्यौं । म्यानहटनका रेष्टुरेण्टमा पुगेर सँगै वियर पिउदै उहाँले आफ्ना संघर्षका कथाहरु सुनाउनुहुन्थ्यो, म निकै चाख मानेर सुन्थें । वर्षौ पहिले भारतमा टेलिभिजन विज्ञापनमा खेलेकोदेखि अमेरिकामा आउनासाथ ठगिनुपरेका उहाँका अनुभवहरु असाध्यै रोचकमात्र थिएनन्, शिक्षाप्रद पनि थिए ।
मैले उहाँसँग सन् २०१२ को अन्तिमसम्म काम गरें । त्यो दौरान उहाँसँगको सँगत मेरो जीवनमा एउटा अविश्मरणीय पाटो बनेर बसेको छ । भेट हुनासाथ ‘ओहो तपाई त आज कति ह्याण्डसम देखिनुभएको’, ‘तपाईलाई यो कपडा कस्तो सुहाएको’ जस्ता सकारात्मक प्रसंगबाट कुराकानीको थालनी गर्ने शान दाईसँग मेरा कैयन पेशागत वादविवाद र छलफल हुन्थे । कन्भिन्स गर्ने उहाँको शैली बडो अचम्मको थियो । उहाँले सधै मलाई कामका लागि प्रेरणा दिइरहनुहुन्थ्यो ।
मैले ह्वाइटहिमाल टेलिभिजन छोडिसकेपछि पनि उहाँसँग बारम्बार भेटघाट भइरहन्थ्यो । विभिन्न चाडपर्वमा उहाँले फोन र एसएमएस गरिहाल्नुहुन्थ्यो । साँच्ची हाम्रो सम्बन्ध दाईभाईकै जस्तै थियो । अत्यन्तै मृदुभाषी, सकारात्मक सोंचका धनी र फेशनेवल शान दाईलाई यत्ति छिट्ै गुमाउनुपर्ला भनेर मैले कल्पना सम्म पनि गरेको थिएन ।
गत बर्ष काग तिहारको दिन सोमबार न्युयोर्कबाट शान दाईको हृदयघातबाट मृत्यु भएको खबर आउँदा सुरुमा मलाई पत्यार नै लागेन । यो खबर झुठो भइदियोस् जस्तो लागेको थियो । उहाँको मृत्युको एकबर्ष बितिसकेको छ । तर अहिले पनि मलाई उहाँ बितेजस्तो लागेकै छैन । एकबर्ष बितिसकेको छ । अब मैले यो कुरा पत्याउनैपर्छ कि शान दाई भौतिक रुपमा हामीबीच हुनुहुन्न । उहाँसँगका कैयन सम्झनामात्र बाँकी छन् । कागतिहारको दिन बाटोमा कागहरु देख्दा पनि शान दाई नै कागको रुप धारण गरेर हामीलाई हेरिरहनुभए जस्तै लाग्छ ।
फोटो : ह्वाइटहिमाल डटकम