अमेरिकामा बस्ने नेपालीका सामाजिक सञ्जालमा अमेरिकी चुनाव
प्रकाशित मिति : कार्तिक १२, २०७३ शुक्रबार
नोभेम्बर ८ मंगलबार अमेरिकी राष्ट्रपतीय चुनावको मिति नजिकिदै गर्दा अमेरिकामा रहेका नेपालीहरु पनि उत्साहित भएका छन् । आफूले मनपराएको उम्मेदवारलाई राष्ट्रपतिका रुपमा देख्न उनीहरु आतुर छन् । अमेरिकामा रहेका नेपाली अमेरिकनहरुमध्ये अधिकांश डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनका पक्षमा रहेपनि कैयन नेपाली अमेरिकनहरु भने डोनाल्ड ट्रम्पका पक्षमा समेत रहेका छन् ।
अमेरिकामा रहेका नेपाली अमेरिकनहरुले पनि सामाजिक संजाल, संचारमाध्यम र विभिन्न कार्यक्रममार्फत आफ्ना उम्मेदवारहरुका पक्षमा समर्थन जनाइरहेका छन् । डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गर्दै आएका न्युयोर्कका संचारकर्मी शैलेश श्रेष्ठ आफ्नो आलेख मार्फत डोनाल्ड ट्रम्पका समर्थकहरुलाई सोध्छन् — ‘के अहिले तपाईहरुले स्वेर परिकल्पना गर्नु भएको जस्तो आप्रवासी अनि अल्पमतहरु प्रति अनुदार विचार अनि ब्यबहार राख्ने ट्रम्पमार्का राष्ट्रपति अथवा अमेरिकी संघीय संस्थापन भएको भए अहिले नेपाललाई दिईएको टी.पी.एस. को दर्जा (सुबिधा) यति सजिलै अर्को अठार महिनाको लागि नवीकरण हुन्थ्यो ?’
त्यस्तै न्युयोर्कमा फेसबुकमा फेमश शशांक लामा फेसबुकमै लेख्छन् — ‘आफ्नो ब्यक्तिगत ब्यवसाय, बिजिनेश, पेशामा कुनै न कुनै रुपमा फाईदा पुग्छ भनेर ट्रम्पलाई रोज्ने नेपाले बाबुसाहेबको स्वकेन्द्रित सोच देखेर त ठिट लागेर आउँछ । यि नेपाले बाबुसाहेबमा वर्गिय चेत कहिले पलाउंछ ? राजनीतिक भिजनमा कहिले सुधार आउँछ ? डेमोक्रयाट्ले केही गर्नै सकेन भनेर रिपब्लिकनलाई ल्याउनलाई एउटा तर्कसंगत बाख्या पनि त चाहियो । ओबामा नेतृत्वको डेमोक्रयाट पार्टिले छलाँग मार्न त खोजेकै थियो, तर नश्लबादी रिपब्लिकनहरुले हरहमेशा खोँचे थापे । तघारा तेर्साए । सरकारै जाम गराए । अम्रिकाने नेपाले बाबुसाहेबले नेपालमा जस्तो यहाँँ अम्रिकामा पनि एकात्मे शासन खोज्या हो ? बर्मा गयो कर्मसंग, अम्रिका आयो आचरणसंग । ’
त्यस्तै अमेरिका निवासी नेपाली प्रेम गुरुङ सामाजिक सञ्जालमा लेख्छन् — ‘आप्रवासीहरु माथि रुखो व्यवहार गर्ने, गरिवलाई भन्दा धनीलाई बढी छुट दिने, चेलीवेटीहरु माथि कुदृष्टि लगाउने, वोलीको कुनै ठेगाना नभएको ट्रम्पलाई मन पराउने साथीहरुको बुध्दिमा बिर्को लागेको हो कि ? अझ हांसो लाग्दो कुरा त आफुले जितेमा चुनावको नतीजा स्वीकार गर्ने र हारेमा नतीजा स्वीकार नगर्ने ट्रम्प जस्ता मुर्खलाई मन पराउने साथीहरु महामूर्ख हो ।’
हिलारी समर्थक अमेरिकामा बस्ने नेपालीहरुलाई ट्रम्प समर्थक नेपालीहरुको र ट्रम्प समर्थकले हिलारी समर्थकको आलोचना गरिरहेका बखत न्युयोर्कका युवा सामाजिक व्यक्तित्व मिलन कुमार शाही भने फरक धारणा राख्छन् । उनी भन्छन् — ‘जब सोच र विचार भिन्न हुन्छन्, अनि एउटाका बिरुद्ध अर्को खडा हुन्छ, मतभिन्नता हुन्छ । यो स्वभाविक हो, यसमा अर्काको बिचारलाई गलत भनेर लाद्नु नै निरंकुशता हो । ’
मिलन शाही आफ्नो सामाजिक सञ्जालमा लेख्छन् — ‘हामी नेपालीहरुलाई अमिरिकी राजनीति अति नै लागे जस्तो छ, लाग्नु स्वभाविक पनि हो । जुन देशमा कर्म गरिन्छ जसबाट आफ्नो र परिवारको भबिष्य उज्जवल बनाउने सपना देखिन्छ, त्यो देशको नागरिकता वा स्थायी बसोबासका लागि कानुनी हक प्राप्त गरिन्छ, अवश्य नै त्यो देशको राजनीति प्रति चासो लिनु त्यो देशमा स्थायित्व रुपमा बस्ने जनता वा त्यो देशको नागरिकको कर्तब्य हो । चुनावमा दुई पार्टी र सो पार्टीका दुई उम्मेद्वारहरु मैदानमा उत्रेका छन् । स्वभाविक हो, एउटै बिचार सबैको हुनुपर्छ भन्ने छैन । सबैको एउटै बिचार हुनेभए, मतभिन्नता नहुने भए किन चुनाव गरिरहनु पथ्र्यो संसारमा ? ’
त्यस्तै अमेरिकाको टेक्सस निवासी शरद पोखरेल ट्रम्पको समर्थन गर्दै आफ्नो आलेखमा लेख्छन् — ‘हालको यो चुनाव दुई धारमा उभिएको प्रष्ट छ। यथास्थिति धार र परिर्वतनकारी धार । यथास्थितिमै अमेरिकाको भविष्य देख्नेले क्लिन्टनलाई मतदान गर्लान् । उता ट्रम्पलाई मन नपराउँदा नपराउँदै पनि भविष्यको जोखिम लिँदै परिर्वतन आवश्यक छ भन्नेहरू उनलाई नै भोट हाल्न बाध्य होलान् । हाम्रो नेपाली समाजले यो माहोलको हेक्का राख्नु जरुरी छ । ’
शरद पोखरेलको टिप्पणी मन नपराएका शैलेश श्रेष्ठ तात्तातै फेसबुकमा लेख्छन् — ‘शरदजीले स्वेत साम्राज्य अनि स्वेत सर्बोच्चताका प्रतिनिधि पात्र बैचारिकरुपले पुरातनबादी अनि ब्यबहारिकरुपले युद्धउन्मादी अनुदारवादीलाई डोनाल्ड ट्रम्पलाई परिवर्तनकामी धार भनेर लेख्ने साहस गर्नु भयो । म चाँही अचम्भित भएको छु । यतै कतै भेटघाट हुने ठाउँमा भएको भए शरदजीसंग कफी पिउंदै यहि बिषयमा बहस गर्न हुन्थ्यो । यी सबका बाबजुद पनि म शरदजीको लेखन स्वतन्त्रताको सम्मान गर्छु अलिकति बैचारिक सत्यतथ्यको गलत सम्प्रेषण भयो कि भन्ने मात्र लागेको छ । डोनाल्ड ट्रम्प परिवर्तनकामी धार ? ’
मतदानका लागि योग्य नेपालीहरु
अमेरिकाको राष्ट्रपतीय चुनावमा मतदान गर्नका लागि १८ बर्ष उमेर पुगेको (कतिपय राज्यमा १७ बर्ष ) अमेरिकी नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो योग्यता पूरा गरेका नेपालीहरु अमेरिकामा लगभग २६ हजारको हाराहारीमा रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरु २६ हजारको हाराहारीमा रहेका छन्, जसमा अमेरिकामा नै जन्मेकाहरुको तथ्यांक समावेश छैन । चुनाव भन्नासाथ अत्याधिक चासोका साथ हेर्ने नेपालीहरु अमेरिकी राष्ट्रपतीय चुनावमा पनि सकृय रुपमा सहभागी हुँदैछन् ।
सुरुदेखि सन् २०१४ सम्मको तथ्यांक हेर्दा अमेरिकी चुनावमा मताधिकारसहित २१ हजार १ सय ७४ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ । २६ हजारको हाराहारीमा रहेका नेपालीहरु र अमेरिकामा जन्मेर १८ बर्ष पुरा गरिसकेका नेपालीहरुको संख्यालाई समेत जोड्ने हो भने अमेरिकी चुनावमा मतदाताका रुपमा भाग लिन योग्य नेपाली मुलका अमेरिकनहरुको संख्या यो भन्दा पनि धेरै हुन आउँछ ।
सन् २०१५ मा अमेरिकाभरबाट ७ लाख २९ हजार ९ सय ९५ जना विश्वभरका आप्रवासीहरुले अमेरिकी नागरिकता लिएका थिए जसमध्ये नेपालीहरुको संख्या ३ हजारको हाराहारीमा रहेको थियो ।
५० प्रतिशत भन्दा धेरैले मतदान गर्ने अनुमान
अमेरिकामा यो वर्ष हुने राष्ट्रपतीय चुनावका लागि मतदान गर्न योग्य अमेरिकी नागरिकाप्राप्त व्यक्तिको संख्या झण्डै २५ करोड रहेको छ । जसमध्ये ५० प्रतिशत भन्दा धेरैले राष्ट्रपतीय चुनावमा मतदान गर्ने अनुमान गरिएको छ । किनभने अमेरिकी राष्ट्रपतीय चुनावमा मतदान गर्न योग्यमध्येबाट ५० प्रतिशतको हाराहारीमा मात्र मतदानमा सहभागी हुने गरेका छन् ।
यसअगाडि सन् २०१२ मा सम्पन्न राष्ट्रपतीय चुनावका लागि मतदान गर्न योग्य मतदाताहरु २३ करोड ५२ लाख ४८ हजार रहेका थिए तर उनीहरुमध्ये १२ करोड ९२ लाख ३५ हजारलेमात्र मतदान गरे । त्यसबाट ६ करोड ५९ लाख १५ हजार ७ सय ९६ मत बराक ओबामाले प्राप्त गरेका थिए भने ६ करोड ९ लाख ३३ हजार ५ सय मत मिट रोम्नीले प्राप्त गरेका थिए । सन् २०१२ को चुनावमा कुल मतदाताको ५४ दशमलव ९ प्रतिशतमात्र मतदानमा सहभागी भएका थिए ।
अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ । यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।
सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।