१९ बर्षपछि अमेरिकाबाट नेपाल फर्केकी सलुजा सफ्टवेयर कम्पनीमा सीईओ


प्रकाशित मिति : कार्तिक १४, २०७३ आईतबार

– अस्मिता खड्का

रोजगारीको खोजीमा हजारौँ युवा विदेश पलायन भैरहेको बेला सलुजा आचार्य भने अमेरिकी जीवनशैली र सेवासुविधा छोडेर नेपाल फर्केकी छिन् । १९ वर्षलामो अमेरिका बसाईपछि दुई छोरा र श्रीमान सहित उनी नेपाल फर्केकी हुन ।

अमेरिका छोडेर नेपाल फर्कने कुरा सुनाउँदा उनका साथीहरुले भने, ‘नेपाल किन जाने ? के का लागि जाने ?’ उनलाई साथीहरुले यस्ता प्रश्न गर्नु स्वभाविक थियो, किनकी नेपाली युवा कामकै खोजीमा दिनहुँ हजारौको संख्यामा विदेश पलायन भैरहेका छन् । यस्तो बेला उनी राम्रो कम्पनिको राम्रो जागिर छोडेर नेपाल जान्छु भन्नु पालगपूर्ण निर्णय हो भन्नेहरु धेरै थिए । तर, उनी आफ्नो झिटिझाम्टा बोकेर सन् २०१३ मा अमेरिका छोडिन् ।

अमेरिकाकोे प्रतिष्ठित हेल्थ इन्स्युरेन्स कम्पनी ब्लूक्रस ब्लुशिल्डको अफिसरका रुपमा काम गर्थिन् । सेबा सुविधा राम्रै थियो । बोनस, इन्स्युरेन्स र अन्य सुविधाहरु पनि पाएकै थिइन । बार्षिक एक लाख ३५ हजार अमेरिकी डलर थियो उनको कमाई । झण्डै डेढ करोड नेपाली रुपैया ।
एप्लिकेशन डेभलपरका रुपमा ब्लुक्रस कम्पनिमा प्रवेश गरेकी उनले १५ वर्ष त्यहीँ बिताईन् । १५ वर्षको अवधिमा उनले ब्लूक्रसको विभिन्न तहमा रहेर काम गरिन् । भन्छिन् ‘अनुभव धेरै छन्, केही खुशीका क्षण त, केही दुःखका पल ।’

म महिला हो, केही गर्न सक्दैन भन्ने सोचको विकास उनमा कहिल्यै भएन । म गर्न सक्छु भन्ने नै सधै मनमा आउँथ्यो रे । सायद त्यसैको नतिजा हुनुपर्छ उनी अमेरिकामा पनि घर,बच्चा र अफिसको भूमिका कुशलतापूर्वक निर्वाह गरिन् । उनलाई अमेरिकामा सबैभन्दा अप्ठ्यारो व्यवस्थापको पोष्टमा पुग्दा भयो । उनी माथिल्लो पोष्टमा पुगेकै बेला जेठो छोरा जन्मियो । अफिसको जिम्मेवारी थपिएकै बेला तनाब निकै थियो । तर, उनले त्यो चुनौतीको पनि हाँसी हासीँ सामना गरिन् ।

उनी बेलुका ढिलो सुत्ने र विहान चाँडै उठेर आफ्नो तालिका अनुसार काम गरिन् । थकाई लाग्दा उनले आफैले आफूलाई हौसला दिँदै मनमनै भनिन् ‘तिमी गर्न सक्छौ ।’ ‘छोरा सुताएर राती १२ बजेसम्म अफिसको काम गर्दथेँ । विहान ५ बजे जिम जान्थें । अनि बच्चालाई तयार गरेर स्कुल पठाउँथे । त्यसपछि अफिस जान्थेँ । घरमा आएपछि सबै गर्नु पर्दथ्यो’ उनले बेली विस्तार लगाईन् । उनी थाक्दा हरेक पटक श्रीमानले हात र साथ दुबै दिए । अब उनको अमेरिका फर्कने सोचाइ छैन । उनको सानो छोरा साढे तीन वर्षको भयो भने ठूलो ९ वर्षको भयो ।

ब्लूक्रस कम्पनिमा आउनु भन्दा पहिलाका ४ वर्ष उनका लागि निकै संघर्षपूर्ण रहेँ । जसबाट उनले अनगिन्ति अनुभव सङ्गालेको सुनाईन ।
अमेरिकाको सेन्ट क्लाउण्डबाट डिप्लो गरेकी उनी कलेजका दिनहरु सम्झेर मुस्कुराउँदै भनिन् ‘ति दिनहरु सजिला थिएनन् । मैले अध्ययन गर्ने कलेज नजिकै एउटा सानो प्रिन्टिङ पे्रस थियो त्यहाँ दिनको १२ घण्टासम्म उभिएरै काम गरेँ ।’ उनले कलेज पढ्ने दिनमा हाउसकिपिङ्को काम पनि गरिन् । अमेरिका पुगेको पहिलो वर्ष सलुजाले घरबाट आएकै खर्चमा पढिन् भने त्यसपछि आफै कमाउन थालिन् ।

सुरुको कलेजमा फि अलि महंगो भएकाले ६ महिनामै छोड्नु पर्यो । त्यसपछि उनी सेन्ट क्लाउण्डमा भर्ना हुन पुगिन् । अर्काको देशमा पढ्दा गर्नु परेको संघर्षले नै हुनुपर्छ उनी भित्र आत्मविश्वास उच्च देखिन्छ । आफ्नो कार्यक्षेत्र होस् वा जिवनमा आउने उतार चढाव र चुनौति अब उनी सजिलै पार लागाउन सक्छिन् । जिवन सफल बनाउने उनको एउटा मात्र सुत्र हो ‘आत्मविश्वास’ ।

२०१३ मा नेपाल फर्किएकी ३९ वर्षीय सलुजा आचार्य अहिले नेपाली युवाको प्रेणाको श्रोत बनेकी छिन् । सन् २००७ देखि नेपालमा चलिरहेको आइटी कम्पनि एभिओन्तेमा नेपाल फर्कन वित्तिकै उनी व्यवस्थापनको जिम्मेवारीमा रहेर काम गरिन् । तर, अहिले एभिओन्ते कम्पनिको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्दै आएकी छिन् ।

उनले अहिले नेपालमा ६० जना आइटी इन्जिनियरहरुलाई रोजगारी दिएकी छिन् । उनको यो टिमले विश्वस्तरीय सफ्टवेयरहरु विकास गरिरहेको छ । उनीसँग काम गर्ने सबै इन्जिनियरहरु नेपाली हुन् र नेपालमै अध्ययन गरेका ।

विदेशमा सिकेको सिप आफ्नो मातृभूमिमा प्रयोग गर्ने उनको पवित्र चाहाना छ । नेपालमा केही गर्न सकिदैन भन्दै विदेशमै बस्ने मन बनाएका युवाहरुलाई सलुजा भन्छन् ‘विदेशमा सिकेको सिप र क्षमता देशमा अरु युवालाई सिकाउन सकिन्छ । जसले देशमा दक्ष जनशक्तिको उत्पादन हुन्छ । थोरै भएपनि देश विकासमा त सहयोग पुग्छ नि ।’

तर, उनले विदेशबाट नेपालमा आउन चाहानेहरुलाई सुझाव दिँदै भनिन् ‘बिना योजना त्यत्तिकै हाम्फानु हुँदैन । के काम गर्ने ? कसरी गर्ने पूर्ण रुपमा गृहकार्य अनिवार्य गर्नुपर्छ ।’ ‘जिवनमा धेरै चुनौतिपूर्ण मोडहरु आउँछन् । ति चुनौतीको समाना हरेस नखाईकन एक–एक पाइला अगाडि बढाउँदै जानुपर्छ । आफूमा रहेको आत्मविश्वास डगमगाउन दिनुहुँदैन, सोचेको सफलता हात पर्छ ।’

उनी नेपाल आउँदा कुन काम कसरी गर्ने भन्ने योजनाको मार्गचित्र दिमागमा कोरेर आएकी थिइन् । पहिलो योजना सफल नभए दोस्रो योजना पनि उनीसँग थियो । तर, पहिलो योजनामै उनले भने जस्तो सफलता हात पारिन् । उनी नेपालमा पनि अमेरिकामा जति नै कमाउँछिन् । त्यो भन्दा ठूलो उनी आफ्नै मातृभूमिमा पसिना बगाएकी छिन् ।

२०३३ सालमा काठमाडौंमा जन्मिएकी सलुजाले प्राथमिक तहको पढाई सिद्धार्थ बनस्थलीबाट गरिन् भने माध्यमिकस्तरको पढाइ मञ्जुश्री स्कुल स्वयम्भुबाट पूरा गरेकी थिइन । २०४९ सालमा राम्रो अंक लिएर उनले एसएलसी पास गरिन् ।

उनका आमाबुबा उनलाई डाक्टर बनाउन चाहान्थे । त्यसैले उनी काठमाडौं विश्वविद्यालयको कलेज अफ साइन्समा आइएस्सी पढ्न थालिन् ।
२०५१ सालमा आइएस्सी सकिन् । त्यसपछिको शिक्षाका लागि उनी लुथर कलेजमा कम्प्युटर साइन्स पढ्न भन्दै अमेरिका उडेकी थिएन् । उनको भाग्य नै मान्नुपर्छ अमेरिका जाने भिसा सजिलै पाउन सफल भईन् । अहिले अमेरिकाको लागि भिसा सजिलै पाईदैन । तर, २० वर्ष पहिला भिसाको लागि अन्तरवार्ता दिँदाको सम्झना गर्दै उनले भनिन्‘मलाई सम्झना छ, भिसाको लागि अन्तरवार्तामा केही सोधेनन्,‘अमेरिका अलि जाडो छ, बाक्लो लुगा लगाउनु’ यत्ति मात्र । धेरै कागज पत्र देखाउनु परेन ।’

बरु त्यो बेला परिवारले विश्वास गरेर पठाउने कुरा अहिले जस्तो सहज थिएन । २० वर्ष पहिले नेपाली समाजमा महिलालाई हेर्ने सामाजिक दृष्टिकोण फरक थियो । त्यो बेला अमेरिका पढ्न जानका लागि परिवारको मन जित्नु त्यत्ति सजिलो थिएन, त्यैपनि उनी सफल भईन् ।

विगतका पाना खोल्दै भनिन् ‘मनदेखिनै आफ्नो देश फर्कने योजना बोकेर अमेरिका गएको थिएँ । उता गएपछि धेरै मान्छेको चाहाना चाहानामै रहन्छ । विवाहपछि नेपाल आएर कामगर्ने प्रस्ताब राख्दा मेरो ससुराले केही समय अमेरिका बस्न सुझाव दिनुभयो । उहाँले उपयुक्त समय आएपछि नेपालमै आएर आफ्नो कम्पनि खडा गरौँला भन्ने सल्लाह दिनुभयो थियो । उहाँको सुझाव अनुसार नेपाल फर्कने मिति लम्बियो । त्यो बेला नेपालमा माओवादी युद्ध चलिरहेको थियो ।’

उनका ससुरा उद्योगी कृष्ण आर्चायको सुझाब अनुसार अहिले उनी नेपाल आएको बताइन् । उनी आफ्ना दुई छोराहरुलाई राम्रो शिक्षाका साथै नेपाली संस्कार र संस्कृति सिकाउन चाहान्छन् । नेपाल आउनुको एउटा अर्को कारण छोराहरु पनि हुन ।

यता उच्चशिक्षा अध्ययन गर्न बिदेश जाने तयारीमा रहेका युवाहरुलाई सुझाव दिँदै सलुजाले भनिन् ‘अमेरिकामा अवसरहरु आउँछन् ती सबै अवसरहरु लिनुपर्छ तर, आफ्नो देशलाई कहिल्यै बिर्सनु हुँदैन, दिमागको एउटा कुनामा राख्नुपर्छ, कि म नेपाल फर्कनु पर्छ । मातृभूमिको माटो नै प्यारो हुन्छ ।’

विदेशमा नेपाली युवा अध्ययनको लागि जानु पर्ने बाध्यतालाई कम गर्न अन्तराष्ट्रियस्तरकोे शिक्षा स्वदेशमै ल्याउनु पर्ने उनको तर्क छ । ‘त्यसको लागि अलिकति समय लाग्छ । तर त्यो राज्यको दायित्व हो’ सलुजाले भनिन् ।

एबीसी टेलिभिजनमा प्रशारित कार्यक्रम टक अफ द टाउन युएसएका लागि खसोखास साप्ताहिकका प्रधानसम्पादक किशोर पन्थीसँग गरेको कुराकानीमा आधारित ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com