संकट समाधानमा सदुपयोग गर मुखर्जी भ्रमण
प्रकाशित मिति : कार्तिक १७, २०७३ बुधबार
– शुभशंकर कँडेल
१७ वर्षसम्म एकाहोरो रुपमा नेपाली नेताहरु दिल्ली दर्शनमा गइरहेको अविच्छन्न बहावमा गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेर नेपाललाई राजनीतिक महत्व र मान्यता दिएको सन्देश दिएका थिए । भलै मोदीको एकवर्षका बीच दुई पटक काठमाडौं भ्रमणको उपहारको सम्मानका लागि भएपनि नेपालको संविधानलाई उनले स्वागत गर्न सकेनन् । अझ विडम्वनापूर्ण नाकाबन्दी नेपालीले सहनु पर्यो । भूकम्पले थिलोथिलो परेका बेला नेपाली जनताले मोदी उपहारका रुपमा नाकाबन्दी खेप्नु पेरेको गहिरो पीडा नेपाली जनताको मनबाट अझै हटिसकेको छैन ।
भारतले एक वर्षका बीचमा नेपालका दुई जना प्रधानमन्त्रीलाई राजकीय भ्रमणव गराउनु पर्यो । गत महिनामात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको जबाफी भ्रमणको अर्थ लगाउने मिल्ने गरी भारतीय राष्टपति प्रणव मुखर्जीको नेपाल भ्रमण आफैपमा नेपालका लागि खुशीको कुरा हो । र पनि यस पटकको भारतीय राष्टपति मुखर्जीको भ्रमण १८ वर्ष पहिले तात्कालीन राष्टपछि के आर नारायण पछिको दोस्रो भ्रमण पनि हो । वितेका दुई दशकमा नेपालाई भारतले उसका कर्मचारी र सुरक्षा एजेन्सीहरुको लहडमा डिल गर्ने वेवास्ताले नै नेपाल र भारतका बीचमा झन ठूलठूला आशंका बढ्रदै गएको स्पष्ट छ ।
नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि जुनसुकै कारणले भएपनि नेपाल पनि प्रथामिकतामा परेको अवश्य नै हो । मोदीले छिमेकी पहिला भन्ने विदेश नीति अख्तियार गरेको श्रृंखलाको मुख्य कडी पनि हो मुखर्जीको यो भ्रमण ।
छिमेकी त्यसमा पनि विश्व आर्थिक शक्तिका रुपमा अघि बढीरहेको देशको राष्टप्रमुखले नेपाल जस्ता देशको भ्रमण गर्नुले नेपालको विश्व मञ्चमा महत्व बढिरहेको छ । त्यसमाथि चीन र भारतजस्ता विशाल छिमेकीमा बीचमा रहेको नेपालका लागि दुवै देशको महत्व बढ्नु अवसर र चुनौति संगसंगै हुने निश्चित छ । चुनौतिको आंकलन गरेर अवसरलाई सदुपयो गर्नु नेपाली नेताहरुको कर्तव्य हो ।
संविधानसभाबाट संविधान बनेको एक वर्ष पूरा भएको सन्दर्भमा त्यही संविधानका वरिपरि राजनीतिक संक्रमणकालको निकास कसरी खोज्ने भन्ने बहस चलिरहेको र त्यस्तो बहसमा भारत समेत एउटा कारक तत्व बनेको परिवेशमा नै मुखर्जी भ्रमणको सन्देश रहेको विश्लेषकहरु बताइरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि उनकै कार्यकालमा भारतीय राष्टप्रमुखले नेपालको भ्रमण गर्नु एक सुखद संयोग पनि हो । प्रचण्ड प्रधानमन्त्री भएको तीन महिना पूरा हुंदा नहुंदै उनले भारतीय समकक्षीसंग दुई पटक दिल्ली र गावामा वार्ता गरेका छन् भने मुखर्जीसंग दिल्ली र काठमाडौंमा दुई पटक वार्ता गर्न पाएका छन् । त्यसका अतिरिक्त प्रचण्डले गोवामा नै चिनिया राष्टपति सि जिन पिंगसंग समेत वान टु वान मात्र होइन कि त्रिपक्षीय छलफल गर्ने अभूतपूर्व अवसर समेत पाए ।
अत्यन्तै तिव्र वेग र चापमा उच्च सतर्कतासाथ भएका दुई पक्षीय तथा त्रिपक्षीय भेट र भ्रमणको अर्थ नेपालको भूराजनीतिक महत्व र चुनौति निकै जटिल बन्दै गएको महसुस गर्न सक्नु पर्दछ ।
मुखर्जी उनै नेता हुन् जति बेला बहुचर्चित १२ बुंदे सहमति हुंदा दिल्लीको व्यवस्थापकीय निर्देशकको रुपमा सक्रिय थिए । ८० वर्षीय मखर्जीको जीवनका ६ दशकभन्दा बढी समा केवल राजनीति र दिल्लीको किचेन क्याविनेटमा वितेको छ । नेपाललाई नजिकबाट बुझ्ने यो तहको उनीमात्र एक्ला नेता हुन भारतका लागि । विभिन्न मन्त्रालयको जिम्मेवारीका साथ किंग मेकरको भूमिका रहेका मुखर्जी राष्टपति हुनुभन्दा पहिले नेपाल मामिलाका निर्विकल्प जानकार मात्र होइन कि राजनीतिक सकसको गुत्थी फुकाउने नेताका रुपमा चिनिन्थे । सन् १९९० पनि सबैभन्दा बढी शासन गरेको गिरिजा प्रसाद कोइरालाले पनि दिल्लीको फेवर आवश्यकता पर्दा साथ यिनै मुखर्जीलाई सम्पर्क गर्दथे । त्यसकै उच्चतम सहयोग १२ बुंदे समझदारी निर्माणमा तात्कालीन विद्रोही र सात दलका विश्वासीला पात्र मुखर्जी नै थिए । यस हिसाबले नेपालको शान्ति प्रक्रिया र नयां संविधानका विषयका अन्तरकुन्तरमा मुखर्जीले आफूलाई खोज्नु स्वाभविक छ । संविधानका विवादित विषयको समाधान र दुई देशबीचको सम्वन्धमा पुराना गलफत्ति समाप्त गरेर नयां सरल बाटोमा लैजानका लागि मुखर्जीले अवश्य प्रेरित गर्ने छन् । यस्तो प्रेरणका लागि मुखर्जीले जवर्जस्त गेस्चर देखाएन सक्छन् तर निर्णायक हस्तक्षेप गर्न सक्दैनन् ।किनकि दिल्लीको हैदरबाद हाउसमा मुखर्जीको पार्टीको कोेही नेता नभएर उनको कटु आलोचक दल विजेपीका नरेन्द्र दामोदरदास मोदी हर्ताकर्ता छन् । अझ उनी आफ्नै कार्यकालको अन्त्यको सन्निकट समेत रहेका छन् ।
मुखर्जीको सन्देश र सहयोग बढीभन्दा बढी उपयोग गर्न सक्नु मा नै नेपाली नेताहरुको सफलता रहने छ । मुखर्जीपछि भारतको राष्टपति हुने व्यक्ति जो भएपछि मुखर्जी जस्तो खारिएको कुटनीतिज्ञ तथा नेपाल विज्ञ नहुने निश्चित छ । नेपालको जारी संक्रमणकाललाई आफ्नो पनि स्टेक सम्झने राष्टप्रमुख रहेका बेला दिल्लीको हैदरबाद हाउसलाई प्रभावित गर्न जति सजिलो छ, अबको एकवर्षपछि त्यस्तो अवसर हुने छैन ।
मुखर्जी भ्रमणलाई चिनिया राष्टपतिको नेपालमा हुने भ्रमणभन्दा अगावै भारतीय राष्टप्रमुखको भ्रमण गराएको भन्ने जस्तो संशय पनि नेपालमा छ । भारतका प्रति जस्तो आशंक गरेपनि नेपाली जनताले पत्याउने खालको मनोविज्ञान समेत भारतकै कारणले बनेको छ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी त चिनिया राष्टपतिको भ्रमणलाई काउन्टर गर्न मुखर्जीको भ्रमण गराइएको बताउंछन् ।
अवश्य पनि नेपाल त्यो हैसियतमा छैन, चीनका विरुद्ध भारत र भारतका विरुद्ध चीनलाई प्रयोग गर्न सकियोस् । तर पनि नेपाली जनमानसमा परेको छाप र आशंका व्यवहारबाट खण्डन गर्ने दायित्व नेपाली नेताहरुको नै हो । सरकार प्रमुखको नै हो । नेपालको घरेलु मामिलामा भारतीयहरुको चासो र खटनपटन त्रिभुवनका पालादेखि अहिलेम्म रहेको कुटनीतित्र मोहन लोहनी बताउंछन् ।
यी र यस्ता अनेकखालका आशंका हटाएर सम्वन्धलाई मजबुत बनाउने र दुवै छिमेकीबाट सहयोग लिन सक्नुमा नै नेपालको हित रहेको छ । त्यसमध्ये पनि नेपाल र भारतबीचको उतारचढाव पूर्ण सम्वन्धलाई सौहार्द र रचनात्मक बनाइरहन सक्ने व्यवहार नेपाली पक्षबाट प्रदर्शन गर्न सक्नु पर्दछ ।
एबीसी टेलिभिजनको वेवसाइटबाट साभार