अमेरिकाको चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकन झण्डै २६ हजार
प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार
अमेरिकाको राष्ट्रपति छान्न विहिबार हुने चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकनको संख्या झण्डै २६ हजार रहेको छ ।
अमेरिकाको राष्ट्रपतीय चुनावमा मतदान गर्नका लागि १८ बर्ष उमेर पुगेको (कतिपय राज्यमा १७ बर्ष ) अमेरिकी नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो योग्यता पूरा गरेका नेपालीहरु अमेरिकामा लगभग २६ हजारको हाराहारीमा रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरु २६ हजारको हाराहारीमा रहेका छन्, जसमा अमेरिकामा नै जन्मेकाहरुको तथ्यांक समावेश छैन ।
सुरुदेखि सन् २०१४ सम्मको तथ्यांक हेर्दा अमेरिकी चुनावमा मताधिकारसहित २१ हजार १ सय ७४ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ । २६ हजारको हाराहारीमा रहेका नेपालीहरु र अमेरिकामा जन्मेर १८ बर्ष पुरा गरिसकेका नेपालीहरुको संख्यालाई समेत जोड्ने हो भने अमेरिकी चुनावमा मतदाताका रुपमा भाग लिन योग्य नेपाली मुलका अमेरिकनहरुको संख्या यो भन्दा पनि धेरै हुन आउँछ ।
सन् २०१५ यता ५ हजार भन्दा धेरै नेपालीहरुले अमेरिकन नागरिकता लिइसकेका छन् ।