पुरानो टीपीएस आवेदन पेन्डिङ रहेकाले नयाँ दिइरहनु नपर्ने
प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार
नेपालीहरुका लागि पुनदर्ताको अन्तिम म्याद जुलाई २३ सोमबारसम्ममात्र रहेपनि पुरानो टीपीएस आवेदन पेन्डिङ रहेकाले भने नयाँ आवेदन दिइरहनु नपर्ने युएससीआईएसले जनाएको छ । गत मे २२, २०१८ वा त्यो भन्दा पनि पछाडिसम्म टीपीएस वा वर्क परमिटको आवेदन पेन्डिङ रहेकाले नयाँ आवेदन दिनु नपर्ने युएससीआईएसले प्रष्ट पारेको हो ।
गत मे २२ वा त्यसपछिसम्म पनि पेन्डिङ अवस्थामा रहेका आवेदनबारे निर्णय हुँदा सन् २०१९ को जुन २४ कै म्याद भएको वर्क परमिट वा टीपीएस प्राप्त हुने भएकाले नयाँ आवेदन दिइरहनु नपर्ने कानुन व्यवसायी केशव सेडाईले जानकारी दिनुभएको छ । तर गत मे २२ भन्दा अगाडि नै आवेदनबारे निर्णय भइसकेकाहरुले भने भोलिसम्म टीपीएस पुन दर्ताका लागि आवेदन दिनुपर्नेछ ।
नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुलाई देशनिकालाको डरविना काम गर्न पाउने अधिकारसहित अमेरिकी सरकारले प्रदान गरेको टीपीएस पुनदर्ताको अन्तिम म्याद जुलाई २३ सोमबारसम्ममात्र रहेको छ । सोमबारभित्र टीपीएसका लागि पुन दर्ता गर्नेहरुले सन् २०१९ को जुन २४ सम्म अमेरिकामा रहेर देशनिकालाको डरविना काम गर्न पाउनेछन् ।
तर सोमबार भित्र टीपीएसका लागि पुन दर्ता नगर्ने कागजपत्रविहिनहरु भने त्यसपछि अमेरिकाबाट देशनिकालाको प्रकृयामा जानेछन् । उनीहरुको कुनै पनि स्टाटस नभएको खण्डमा वा कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएको अवस्थामा उनीहरुका लागि अमेरिकी सरकारले देशनिकालाका लागि नोटिस टु अपियर जारी गर्नसक्ने कानुन व्यवसायी केशव सेडाईले जानकारी दिनुभएको छ ।
पुनदर्ता गर्नेहरुको हकमा भने झण्डै अमेरिकामा बसेर देशनिकालाको डरविना काम गर्न ११ महिनाको अवधि रहनेछ । त्यही अवधिमा या त उनीहरु पुरानै भिसा वा स्टेटसमा फर्कनुपर्नेछ, या त अन्य अध्यागमन सुविधाका लागि आवेदन दिनुपर्नेछ । अन्यथा कुनै स्टेटस नभएको खण्डमा उनीहरुले अमेरिका छाडेर जानुपर्नेछ । अमेरिकी सरकारले आगामी जुन २४ पछि नेपालका लागि टीपीएसको अवधि नथप्ने निर्णय गरेकाले कागजपत्रविहिनहरुले अमेरिका छाड्नुपर्ने वा विकल्प खोज्नुपर्ने भएको हो ।