मेरो लेखन यथार्थपरक छ : पासाङ शेर्पा, गीतकार
प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार
पासाङ अमेरिकाको न्युयोर्क निवासी गीतकार हुन् । पेशाले हेयर डिजाइनर बनेपनि उनमा गीत संगीतप्रतिको रुची बाल्यकालदेखि नै थियो । बाल्यकालमा मनमष्तिकमा छाप परेका कतिपय घटनालाई उनले अहिले गीतमा उतारिरहेका छन् । उनका गीतहरु यथार्थपरक छन् । त्यसैले धेरैले रुचाउँछन् । उनको पछिल्लो गीत नरोऊ तिमी युट्युबमा मात्र ३२ लाख पटक हेरिएको छ । भविश्यमा एल्बम र नगाइएका गीतको पुस्तक समेत लेख्ने सोंचमा रहेका सरल स्वभावका उनै पासाङ शेर्पासँग न्युयोर्कमा गरिएको कुराकानी ।
अहिलेसम्म तपाईले कति गीत लेखिसक्नु भयो ? लेखन यात्राबारे सुनाउनु न ?
हाईस्कुलको पढाई पूरा भएसँगै मैले कलम चलाउन शुरु गरेको थिए । कलेज पढ्दा मैले कविता धेरैले लेख्ने गर्दथेँ । मेरो कविता राम्रै भएर होला साथी भाईहरुले गीत लेख्नु सुझाब दिए । त्यसको लगत्तै दुई वटा गीत लेखे, त्यो बेला मेरो उमेर १८/१९ को थियो । अहिलेसम्म मेरा ७/८ वटा गीत रेकर्ड भएका छन् भने केही रेकर्डको लागि तयार अवस्थामै छन् ।
अहिलेसम्म कुन–कुन गीत रेकर्ड भए बताईदिनुस् न ?
मेरो पहिलो गीत ‘तल पर्यो नाम्चे गाउँ ,माथि पर्यो सल्लेरी’ भन्ने हो । साँझ ढलेको थाहै पाईन,डिलमुनी मेरो घर,सुनसान बगरमा, नरोऊ तिमी भन्छौ भने, सयौँ डाँडा काट्दै आएँ लगायतका गीतहरु बजारमा आइसकेका छन् । सयौँ डाँडा काट्दै आएँ बोलको गीत अमेरिकामा रहेका नेपालीहरुको भोगाईलाई समेटेर बनाएको थिएँ । अर्को घामले डढेको बगर हुँ म, पानी बिनाको नहर हुँ म, लगायतका गीतहरु रहेका छन् ।
नरोऊ तिमी भन्ने पछिल्लो तपाईको गीत,युटुवमा धेरै हेरिए मध्येको हो ?यो गीत कस्तो अवस्थामा लेख्नु भयो ? परिवेश के थियो ?
यो गीत जन्मनुमा एउटा संयोगले काम गरेको छ । मलाई एउटा घटनाले निकै छोएको थियो । मैले हाइस्कुल पढ्दाको कुरा हो । हाइजम्प खेल्ने क्रममा मेरो खुट्टा फ्याक्चर भएको थियो । फ्याक्चर भएको खुट्टा निको हुन करिव एक महिना लाग्यो । एक महिनासम्म टिचिङ हस्पिटिल जाने आउने रुटिन जस्तै बनेको थियो । त्यो बेला मैले हस्पिटलमा एक जोडी देखेँ । बुझ्दै जाँदा, उनीहरु नगरकोट जाँदा एक्सिडेन्टमा परेका रहेछन् । उनीहरु पनि टिचिङमा उपचार गराईरहेका थिए । पछि उनीहरुसँग सामान्य चिन जान भयो । उपचारपछि ती केटी घर जाने तयारीमा थिईन । उनको उपचारमा खटेका डाक्टरले बिदाई गरेपछि डाक्टरलाई धन्यवाद दिँदै उनले नमस्कार गर्न खोजिन् । तर उनको एउटा हातै थिएन । उनले आफ्नो एउटा हात गुमाईसेकेकी थिइन । एक मिनेट अगाडि खुशी देखिएकी उनी सेकेन्डभरमा भक्कानिएर रुन थालिन् । उनका साथीले सान्त्वना दिँदै नरोऊ भन्दै थिए, उनीले आफ्नो हात हेर्दै, केटाको मुख हेर्दै रोइ रहिन् । जसको कारण यो गीत जन्मिएको हो । हामीले नरोऊ भन्छौँ तर पीडा त उसले मात्र सहनु परेको हुन्छ । त्यो बेला म पनि सानै थिएँ । यो गीत त्यतिबेला लेखेको होइन, पछि लेखेँ । घटनाले मेरो मानषपटलमा गहिरो छाप छोडेको थियो । जुन घटनालाई मैले गीतमा उतारेको हुँ ।
गीत लेख्नमा तपाईलाई बढी के कुराले प्रेरित गर्दछ ?
मेरो लेखन कल्पना भन्दा बढी यथार्थ परक हुन्छ । मैले आफैले देखे, भोगेका कुरालाई गीतको लयमा उन्ने गरेको छु । मलाई आफ्नो आँखा अगाडि हुने घटना र आफ्नो जिवनमा भोगेका भोगाईहरुले गीत लेख्नमा प्रेरित गर्दछ ।
बिजनेसमा व्यस्त हुनुहुन्छ, गीत रचनाका लागि समय कसरी निकाल्नुहुन्छ ?
कुनै घटना विशेष वा परिबेशले मनमा छोइरहेको हुन्छ । त्यो कुरा घरमा पुगेर लेख्छु, चाहे त्यो दुई लाइन किन नहोस् । कहिले त्यो दुईलाई दुई दिनमै पुरा गीत बन्छ भने कहिले वर्षदिनसम्म पनि अड्किएको हुन्छ । म लेख्छु नै भनेर बस्ने गरेको छैन । कुनै बेला काम गरिरहेको बेलामा पनि दिमागमा अन्तरा फुरेको हुन्छ, त्यो त्यही बेला लेख्ने गरेको छु ।
अहिले तपाईको एउटा–एउटा गरी गीतहरु रेकर्ड भैरहेका छन्, एल्वमको रुपमा बजारमा ल्याउने तयारीमा हुनुहुन्छ कि ?
धेरै पहिला एल्वम निकाल्ने र आर्थिक लाभलिने योजना थियो । अहिले त्यो मोह छैन । त्यसकारण मैले प्रत्येक वर्ष एउटा दुईटा गीत निकाल्ने सोचमै छु । यी सबैको संग्रहको रुपमा दुईचार वर्षपछि निकाल्नु पर्छ कि भन्नेमा छु ।
लेखनकै विषयमा भावि योजना केही बनाउनुभएको छ ?
मेरो ५०/६० वटा गीत अझै रेकर्ड हुन बाँकीनै छन् । कलाकार साथीहरुले रेकर्डको लागि मागिरहनु भएको छ । तर, मैले सोच्ने गर्छु ,मैले लेखेको गीत अरुले न्याय गर्ला वा गर्दैन, भन्ने निणर्यलिन गाह्रो हुन्छ । मैले मागे भन्दैमा दिने गरेको छैन ।
रेकर्ड नभएका गीत र कवितालाई समेटेर पुस्तकको रुपमा बाहिर ल्याउने योजना बनाउनुभएको छ कि ?
त्यो मेरो भविश्यको योजना छ । मेरो ड्रिम प्रोजेक्ट पनि हो ।
तँपाईको गीत सुन्ने श्रोता, दर्शकलाई केही भन्न चाहानुहुन्छ ?
सबैभन्दा पहिला मेरो गीत सुनेर मलाई माया दिने श्रोता, दर्शकलाई धेरै–धेरै धन्यवाद दिन्छु । अहिले जसरी भोलिको दिनमा पनि माया गर्नुहुनेछ भन्ने आशा र विश्वास गरेको छुु । गीत हरेक मान्छेले आफ्नो सोचमा लेखेको हुन्छ । म पनि गीत आफ्नो सोचाईको आधारमा लेखेको हुँ । कुनै गीत श्रोताको जिवनसँग मेल खान गयो भने मन छुने हो । गीत लेखनको क्षेत्रमा म बाट हुने सक्ने कोशिस जारीनै राख्नेछु ।