कागजपत्रविहिन काम गर्ने स्थानमा आइसको छापा, पछिल्लो निशानामा यी ब्यापार
प्रकाशित मिति : भाद्र २, २०७५ शनिबार
कागजपत्रविहिनहरु र आपराधिक पृष्ठभूमी भएका व्यक्तिलाई काममा लगाइएका ब्यापारहरुमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले छापामार्ने क्रम जारी राखेको छ । पछिल्लो चरणमा आइसको निशानामा नेब्रास्का र मिनेसोटा क्षेत्रका ९ वटा विजनेशहरु परेका छन् ।
जानाजान कागजपत्रविहिनहरुलाई काममा लगाउने र नक्कली परिचयपत्र भएकाहरुलाई काममा लगाउने ब्यापारहरुमाथिको १५ महिनासम्मको अनुसन्धानपछि आइसले छापा मारेको हो । यी छापाहरुमा १७ जनालाई गिरफ्तार गरिएको आइसले जनाएको छ ।
उनीहरुले कागजपत्रविहिनलाई काममा लगाउने, शोषण गर्ने र जालजासी गर्ने गरेको पाइएको आइसले जनाएको छ । आइसले १३३ जना कामदार समेत पत्ता लगाएको छ, जो अध्यागमन कानुनको उललंघन गरेवापत पक्राउकालागि योग्य रहेका छन् ।
छापामारिएका स्थानहरुमा अधिकांश फार्म र रेष्टुरेण्टहरु रहेका छन् । बर्षको सुरुमा टेनिसी र ओहायो लगायतका स्थानमा पनि आइसले छापा मारेको थियो । ट्रम्प प्रशासनले बदलिएको नीतिका कारण कार्यस्थलहरुमा आइसको छापा बढेको हो ।