सम्पादकीय : अमेरिका बसेर नेपालबिरुद्ध राष्ट्रघात नगरौं
प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार
अमेरिकामा नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । हिडेर, उडेर वा पौडेर पुग्ने नेपालीहरु अमेरिकामा २ लाखभन्दा धेरै भइसके । अमेरिकामा रहेका नेपालीहरुमा नेपालका लागि केही गर्नुपर्छ भन्नेहरुको बाहुल्यता छ । प्राय सबैको हृदयमा नेपालप्रतिको राष्ट्रप्रेम छ । नेपालमा पहिरो जाँदा उनीहरुको मनमा पनि पहिरो जान्छ । नेपालमा भूकम्प जाँदा उनीहरुको मनमा पनि भूकम्प जान्छ । विभिन्न बाध्यताले अमेरिकामा बसेपनि उनीहरुको मनमा नेपालप्रतिको माया अगाध छ ।
एसाइलम गरेर बस्ने सबैलाई पनि नेपालमा हुनेहरुले गाली गर्न जरुरी छैन । अमेरिकामा कैयन नेपाली बाध्यतावश एसाइलम गरेर बसेका छन् । कोही बाध्यतावश कागजपत्र नहुँदा नहुँदै पनि परिवारसँग विछोडिएर बसेका छन् । सबैका आफ्ना आफ्ना बाध्यता त विवशता छन् । बाध्यताका कारणले आफूलाई नेपाल फर्कन खतरा छ भन्ने विवरण बुझाएर एसाइलम गर्नेहरुको समेत नेपालप्रतिको उत्तिकै माया र राष्ट्रप्रेम छ । उनीहरुले राष्ट्रविपपरित कुनै काम गर्दैनन् । बरु बाध्यताले जे जसरी ग्रिनकार्ड लिएपनि बाँकी समय काममा र नेपालको लागि सकारात्मक सोंचेर नै बिताउँछन् ।
तर त्यही अमेरिकामा यस्ता नेपालीहरु पनि छन्, जो नेपालमा सधै अस्थीरता चाहन्छन् । नेपालमा सधै बेहाल भएको सन्देश फैलाउन चाहन्छन् । आफ्नो व्यक्तिगत स्वार्थपूर्तीका लागि नेपालको स्थीति गएगुज्रेको देखाउन चाहन्छन् । शान्ति प्रकृयाहुँदै मुलधारमा आएर नाम समेत परिवर्तन गरेको र अमेरिकाले समेत स्वीकार गरिसकेको माओवादीलाई अहिलेपनि आतंककारीको रट लगाइरहन्छन् । नेपालमा जनताकै मतबाट बहुमत प्राप्त गरेको नामधारी कम्युनिष्ट सरकार भएपनि सत्ता हत्याएर शाषन चलाइरहेको तानाशाही व्यवस्था भएको जस्तोगरी सन्देश फैलाउन चाहन्छन् । जसबाट केही सिमित व्यक्तिलाई फाइदा भने पक्कै छ । तर यसो गर्नेहरु राष्ट्रघातीहरु हुन् । उनीहरुले राष्ट्रघात गरिरहेका छन् । सिमित व्यक्तिको स्वार्थका लागि आफू जन्मेको देशबारे गलत सन्देश फैलाउनु राष्ट्रघात हो ।
एकताका अमेरिकामा राजावादी नेताहरु आउँदा खादा लगाइदिने र सँगै बसेर फोटो खिच्नेहरुको निकै बिगबिगी नै थियो । उनीहरुले आफूलाई राजावादी भएको र गणतन्त्रवादीहरुबाट खतरा भएको देखाउँदै अमेरिकामा एसाइलम गर्नका लागि त्यस्तो गर्थे । काँग्रेस लगायतका गणतन्त्रबादी नेताहरु आउँदा कालो झण्डा देखाउन तम्सिन्थे । अर्काथरी आफूलाई काँग्रेस देखाउन र कम्युनिष्टहरुबाट नेपाल फर्कन खतरा रहेको देखाउन तत्कालिन एमाले माओवादीका नेताहरु आउँदा कालो झण्डा देखाउन तम्सिने र काँग्रेसका नेताहरु आउँदा कुम जोडेर फोटो खिच्न अगाडि सर्थे । यो उनीहरुका लागि एकप्रकारको बाध्यता पनि थियो । तर यसरी फोटो खिच्ने वा कालो झण्डा देखाउनेहरुभन्दा ठूला राष्ट्रघाती त त्यसलाई भजाएर देशबिरुद्ध गतिविधि गर्ने र व्यक्तिगत स्वार्थपूर्ती गनेहरु हुन् ।
एसाइलमका लागिमात्र नभई चर्चामा आउन चाहने, कुसंस्कारबाट ग्रस्त र अराजक प्रबृत्ति भएकाहरुले समेत नेपालका कैयन नेताहरु विदेशमा जाँदा असभ्यता प्रदर्शन गर्छन् । त्यसमा कुनै राजनीतिक दल निकट संस्थाहरुको खास समर्थन वा इन्डोर्समेन्ट पनि रहँदैन । सभ्यहरुले औपचारिक रुपमा विरोधपत्र, ज्ञापनपत्र बुझाउँछन्, सभ्य तरिकाले प्रश्न वा गुनासाहरु राख्छन् । नेता वा सरकारले गरेका गलत काम विरोध गर्नुपर्छ । तर त्यसका लागि उचित शैली अपनाउनुपर्छ । उचित शैली अपनाउँदा नै मागको सम्बोधन हुनसक्ने सम्भावना रहन्छ ।
कतिपयले तर्क गर्छन्, – ‘कालो झण्डा देखाउने भए नेपालमै आएर देखाऊ ।’ यो तर्कमा दम छ । किनभने यो भनेको घरभित्रको समस्या घरभित्रै समाधान गर्ने क्रममा घरभित्र बाझाबाझ गर्नुजस्तै हो । घरभित्र जतिसुकै गलफती गरेपनि त्यो घरभित्रको कुरा हुन्छ । तर विदेशमा नेताहरुलाई सार्वजनिक स्थलमा कालो झण्डा देखाउने वा असभ्यता प्रदर्शन गर्ने तरिका अपनाउँदा नेपालबारे विश्वमा गलत सन्देश प्रवाह हुन्छ । जानेर वा नजानेर विदेशमा बसेर नेपालबारे गलत सन्देश फैलाउनेहरु राष्ट्रघाती हुन् । अमेरिकामा काँग्रेस, कम्युनिष्ट वा राजावादी जुनसुकै नेता आउँदा पनि सभ्यता प्रदर्शन गरौं । विरोध गर्नैपरे सभ्य तरिकाले विरोध गरौं ।