२४ घण्टाभित्र एरिजोना बोर्डरबाट अमेरिका छिर्दै गरेका २६४ जना पक्राउ


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

एरिजोनाको मरुभूमीबाट गैरकानुनी रुपमा अमेरिका छिर्दै गरेका २६४ जना आप्रवासीहरुलाई अमेरिकी सिमा सुरक्षा बलको गस्तीले पक्राउ गरेका छ । सीबीपीले उनीहरुलाई २४ घण्टाको अवधिभित्र पक्राउ गरेको हो ।

दुईवटा ठूला समुहमा अमेरिका छिर्न लागेका उनीहरुलाई सिमाक्षेत्रमा पक्राउ गरिएको हो । लुकभिल पोर्ट अफ इन्ट्री नजिक गस्ती गरिरहेका बेला मंगलबार अमेरिका छिर्दै गरेको १६४ जनाको समुह फेला परेको थियो । त्यसलगत्तै बुधबार १ सय जनाको समुह अमेरिका छिर्दै गर्दा पक्राउ भेटिएको थियो ।

गैरकानुनी रुपमा सिमा पार गरेर अध्यागमन अपराध गरेको अभियोगमा उनीहरुलाई युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनको स्टेशनमा हस्तान्तरण गरिएको छ । पक्राउ परेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । पक्राउ पर्नेहरु ११ महिनादेखि ५९ बर्ष उमेर समुहका रहेको सीबीपीले जनाएको छ ।

विगत तीन महिनामा उक्त क्षेत्रमा सीबीपीले गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने १२ सय भन्दा धेरैलाई पक्राउ गरेको छ । तस्करहरुले गलत आश्वासन दिएर मोटो रकम असुल्दै आप्रवासीहरुलाई गैरकानुनी रुपमा अमेरिकामा छिराउँदै आएका छन् । यसरी गैरकानुनी रुपमा अमेरिका छिर्नेमा नेपालीहरुको संख्या समेत उल्लेख्य रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com