ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन डलर
प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार
अमेरिकी सरकारले ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन डलर अनुदान दिएको छ । अमेरिकाभरमा भने ४० वटा संस्थालाई साढे ९ मिलियन डलर दिइएको छ ।
न्युयोर्कको अष्टोरियामा रहेको अन्सोब सेन्टर फर रिफ्युजीले २ लाख ५० हजार डलर पाएको छ भने क्याथोलिक च्यारिटी रोचेस्टरले २ लाख २५ हजार डलर पाएको छ । त्यस्तै बु्रकलिनको क्याथोलिक माइग्रेशन सर्भिसले २ लाख ५० हजार डलर पाएको छ । क्याथोलिक च्यारिटी सिराकसले पनि २ लाख ५० हजार डलर पाएको छ ।
उनीहरुले सेप्टेम्बर २०२० सम्म ग्रिनकार्ड प्राप्त आप्रवासीहरुका लागि नागरिकताको तयारीका लागि सहयोग गर्नेछन् । अमेरिकी सरकारले सन् २००९ देखि विभिन्न संस्थाहरुलाई यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । यो सहयोगको १० औं बर्ष हो ।
अहिलेसम्म यो सहायतामा ८२ मिलियन खर्च भइसकेको र २ लाख ग्रिनकार्ड होल्डरलाई नागरिकताको तयारीका लागि सहयोग भएको अमेरिकी सरकारले दावी गरेको छ । यसरी हेर्दा औषतमा एकजना आप्रवासी ग्रिनकार्ड होल्डरलाई नागरिकताका लागि तयार पार्न यो सहायताबाटमात्र सरकारको ४ सय १० डलर खर्च भएको छ ।