अमेरिकी प्रतिनिधिसभा सभामुख बनिन् महिला सांसद न्यान्सी पेलोसी
प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार
अमेरिकी प्रतिनिधिसभा सभामुखमा न्यान्सी पेलोसी निर्वाचित भएकी छिन् । क्यालिफोर्नियाकी कँग्रेसवुमन पेलोसी वासिंटनको तेश्रो शक्तिशाली पदका रुपमा मानिने हाउस अफ रिप्रिजेन्टेटिभको स्पीकरमा निर्वाचित भएकी हुन् ।
अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको पदका रुपमा हाउस स्पीकरलाई लिइन्छ । यदि अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा हाउसका स्पीकर नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ । अमेरिकी विदेशमन्त्री हाउस स्पीकरपछिको दर्जा हो ।
अमेरिकामा महिलालाई मतदानको अधिकार दिइएको एकसयबर्ष पुगेको सन्दर्भमा पेलोसी अमेरिकी तल्लो सदन प्रतिनिधिसभाकी समामुखमा निर्वाचित भएकी हुन् । अमेरिकी प्रतिनिधिसभामा अहिले एकसयभन्दा धेरै महिला प्रतिनिधिहरु रहेका छन्, जुन अमेरिकी इतिहासमा सबैभन्दा धेरै हो ।
डेमोक्रेटिक सांसद ७८ बर्षीय पेलोसीले प्रतिनिधिसभामा कुल ४३० मध्ये २२० मत ल्याएर सभामुखमा निर्वाचित भएकी हुन् । सभामुखका रिपब्लिकन उम्मेदवार केभिन म्याकार्थेले १९२ मत ल्याएका छन् । ११६ औं अमेरिकी संसद सेसनको पहिलो दिन पेलोसी २ बर्षको लागि सभामुखमा निर्वाचित भएकी हुन् ।
यस अगाडि रिपब्लिकन नेता पल रायन अमेरिकी प्रतिनिधिसभामा सभामुख रहेका थिए । न्यान्सी पेलोसीले यसभन्दा अगाडि पनि अमेरिकाको ११० र १११ औं प्रतिनिधिसभामा सभामुखका रुपमा कार्यकाल पूरा गरिसकेकी छिन् । अमेरिकाको सबैभन्दा उच्च तहमा पुग्ने एकमात्र महिला पेलोसी हुन् । अहिलेसम्म यो तहभन्दा माथि महिलाहरु पुग्न सकेका छैनन् । हिलारी क्लिन्टनले काम गरेको विदेशमन्त्रीको पद पेलोसी भन्द एकतह तल्लो तह हो ।
सभामुखमा निर्वाचित भएपछि पेलोसीले आजै पद तथा गोपनियताको सपथ पनि लिएकी छिन् । पेलासीलाई १२ जना आफ्नै पार्टीका डेमोक्रेटिक सांसदहरुले भने मत दिएनन् । सभामुखका लागि अरु ८ जना डेमोक्रेटिक उम्मेदवारहरु पनि उठेका थिए । जसमा पूर्व उपराष्ट्रपति जो बाइडेन समेत रहेका छन् ।