एनआरएन अमेरिकाले पृथ्वी जयन्ती मनाउन हुने र नहुनेमा बराबर मत
प्रकाशित मिति : पुस ११, २०७३ सोमबार
एनआरएन अमेरिकाले पृथ्वी जयन्ती मनाउन हुने र नहुने पक्षमा बराबर मत खसेको छ । खसोखासले ४८ घण्टासम्म संचालन गरेको पोलमा मनाउन हुनेका पक्षमा पचास प्रतिशत र नहुने पक्षमा पचास प्रतिशत मत खसेको छ । मतदानमा कुल ४६२ जना सहभागी भएका थिए ।
सन् २०१७ देखि पृथ्वी जयन्ती संयुक्त राज्य अमेरिकामा संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने एनआरएन अमेरिकाले घोषणा गरेको थियो । एनआरएन अमेरिकाको यस्तो निर्णयको पक्ष र विपक्षमा आवाजहरु उठिरहेका छन् । कतिपयले यसलाई सही निर्णय भनेका छन् भने कतिपयले गणतन्त्र नेपाल विरुद्धको अभियान भनेका छन् ।
राजसंस्था अन्त्यपछि गिरीजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारले पुस २७ मा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय खारेज गरेको थियो। त्यो निर्णयसँगै पुस २७ गते दिँदै आएको सार्वजनिक बिदासमेत कटौति भयो। २०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रस्तावमा मन्त्रिपरिषदले पुस २७ लाई पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस मनाउने परम्पराको अन्त्य गरेको थियो।