सरकार शटडाउनका कारण स्थगित अध्यागमन मुद्दाको संख्या ६७ हजार नाघ्यो, एकसय बढी नेपाली
प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार
डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण अमेरिकी अध्यागमन अदालतमा सुनुवाई तय भएका ६७ हजार भन्दा धेरै अध्यागमनबारेका मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । ती मुद्दाहरुको नयाँ सुनुवाई मिति २ बर्ष वा त्यो भन्दा बढी समय पछि सर्न सक्ने जनाइएको छ । सुनुवाई स्थगित भएका अधिकांश मुद्दाहरु एसाइलमका मुद्दाहरु रहेका छन् ।
अमेरिकाको इतिहासमा नै सबैभन्दा लामो शटडाउनका कारण बिहिबारसम्म सम्म ६७ हजार ४ सय २७ मुद्दाहरु अध्यागमन मुद्दाहरुको सुनुवाई स्थगित भइसकेको छ । हरेक साता शटडाउन बढ्दैजाँदा प्रभावित हुने मुद्दाको संख्या २० हजारका दरले बढ्दै जाने ट्रान्जेक्सनल रेकर्ड एक्सेस क्लीयरिंगहाउसको तथ्यांकले देखाएको छ । शटडाउन जनवरीको अन्त्यसम्म पनि कायम भएमा कम्तीमा १ लाख अध्यागमनका मुद्दाहरु स्थगित हुने देखिएको छ ।
शटडाउन कायम रहदै गर्दा अमेरिकी अध्यागमन अदालतमा ब्याकलग पनि क्रमश बढ्दै गएको छ । नोभेम्बरको अन्त्यसम्म अमेरिकी अध्यागमन अदालतमा ८ लाख ९ हजार ४१ केसको ब्याकलग कायम रहेकोमा शटडाउनका कारण ब्याकलग अझ थपिएको छ । दुईदेखि ४ बर्ष कुरेर अदालतको सुनुवाई मिति पाएकाहरुले शटडाउन अन्त्यभएपछि फेरी दुईदेखि ४ बर्षपछिको नयाँ मिति पाउनेछन् ।
जनवरी २५ सम्म शटडाउन कायम रहेमा ८६ हजार १ सय ९२ मुद्दाहरु स्थगित हुनेछन् । फरबरी १ सम्म शटडाउन कायम रहेमा १ लाख ८ हजार १ सय १२ अध्यागमन मुद्दाहरु स्थगित हुनेछन् ।
नेपालीका कति ?
डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण हरेकदिन ४ देखि ७ जना नेपालीका एसाइलमका मुद्दाहरु स्थगित भएका छन् । अहिलेसम्म एकसय भन्दा धेरै नेपालीका एसाइलमका मुद्दाहरु स्थगित भएको तथ्यांकले देखाएको छ ।
सरकार शटडाउनका कारण थुनामा राखिएका बाहेक अन्यका अध्यागमन मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । अमेरिकी अध्यागमन अदालतमा हरेक महिना एकसयको हाराहारीमा नेपालीका एसाइलमका मुद्दाको सुनुवाई हुने गरेको छ । गत नोभेम्बरमा मात्र ९६ जना नेपालीका एसाइलमका मुद्दाको सुनुवाई गरिएको थियो भने अक्टोबरमा १ सय ५ जना नेपालीका अध्यागमन मुद्दाको सुनुवाई गरिएको थियो ।