मौसम पूर्वानुमान महाशाखाः भूउपग्रहका तस्बिर हेर्दाहेर्दै विपत्तिको खबर
प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार
बारा र पर्सा क्षेत्रमा आइतबार साँझ अत्यधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो । त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवार्नुमान महाशाखालाई थिएन ।
पूवार्नुमान महाशाखाको ड्युटीमा खटिनु भएका मौसम पूर्वानुमान अधिकृत मिनकुमार अर्यालले पनि बारा, पर्साको विपत्ति अनुमान नै गर्नु भएन । साँझ एक्कासि स्याटेलाइटले हावाको बेग पूर्व्तिर फर्किएको देखायो ।
“म हरेक दश मिनेटमा स्याटेलाइटले पठाएको तस्बिर हेर्दै थिएँ, अनि चट्याङ रेकर्ड गर्ने सिस्टम हरेक तीन–तीन मिनेटमा हेर्न थालँे,” उनले थपे, “मौसमको सङ्केत चार्टको अध्ययन पनि साथसाथै गर्दै थिएँ । तर यी सबैले मध्य तराईस्थित बारा र पर्सा क्षेत्रमा एक्कासि वर्षा, हुण्डरी र चट्याङ आउनसक्ने सम्भावना भने देखाउन सकेन ।”
वर्षात्सँगैको हुरीले बारा र पर्सामा कतिपयको ज्यान लिइसकेको थियो । धेरै घाइते भइसकेका थिए । धेरै जनाको घरबास उडाइसकेको थियो । फोनबाट उताको वास्तविक खबर पाए पनि प्रविधिले दिने सूचनाबाट भने उनी आफैं सो समयमा जानकार हुन सकेनन् ।
नेपालमा हावा नै नचल्दा पनि ४० नटको हावाको वेग देखाउने स्याटेलाइटले साँझ त्यस्तै सङ्केत गरिरहेको थियो । यो भनेको अत्यधिक वेग हो । यस्तो त्यसै देखायो कि साँच्चिकै देखायो भन्ने अनुमान अर्याल लगायतका पूर्वानुमानकर्मीले गर्न सकेनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।