भारतमा भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु, ७० जना चढेको बसमा कैयन यात्रु छतमा
प्रकाशित मिति : असार ५, २०७६ बिहीबार
भारतमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । घटनामा परेर ३५ जना घाइते भएकोमा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
बसमा ७० जनाभन्दा धेरै यात्रु चढेका थिए भने कैयन यात्रुहरु छतमा चढेका थिए ।
हिमाञ्चल प्रदेशमा पर्ने कुल्लु जिल्लाको बान्जार क्षेत्रमा रहेको पहाडी क्षेत्रमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनास्थल बन्जार हिमाञ्चल प्रदेशको राजधानी शिमालदेखि झण्डै १६८ किलोमिटर टाढा पर्दछ । सडकबाट झण्डै ५०० मिटर तल खसेर बस दुर्घटना भएको हो ।
घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने धेरैले अनुमान गरेको समाचारमा जनाइएको छ ।
भारतमा सडक दुर्घटनामा परी सयौँ मानिसको मृत्युका घटना बेला बेलामा भइरहने गरेका छन् । विषेश गरेर खराव अवस्थाका सडक, पर्याप्त मर्मत नगरिएका सवारी साधन र चालकको लापर्वाही दुर्घटनाका मुख्य कारण रहेको विज्ञहरुले बताएका छन् ।