पौने ८ अर्ब कालोधनको कारोबार गरेको आरोपमा अष्ट्रेलियामा नेपाली युवक पक्राउ
प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार
झण्डै पौने ८ अर्ब नेपाली रुपैयाको अवैध कारोबार गरेको आरोपमा अष्ट्रेलियामा २९ बर्षका नेपाली युवक विपिन थापा पक्राउ परेका छन् । १०० मिलियन अष्ट्रेलियन डलरको अवैध कारोबारमा थापासहित अरु तीनजना पनि पक्राउ परेको जनाइएको छ ।
दक्षिण सिड्नीलाई मुख्य केन्द्र बनाएर अष्ट्रेलिया र अन्य देशमासमेत उनीहरुले गैरकानुनी रुपमा कालोधनको ओसारपसार गरेको आरोप लागेको छ ।
चार जनालाई नै मनि लाउन्ड्रिङ गरेको, आपराधिक गतिविधिमा संलग्न भएको र रकम लुकाउने काम गरेको अभियोग छ । प्रहरी अनुसन्धानले करोडौं रुपयाँ पर्ने सिंगापुरमा रहेको एक कम्पनी खारेज गराएर डलर असुल्ने काममा समेत उनीहरुको संलग्नता रहेको देखिएको छ ।
सबै जना अहिले अनुसन्धानकै क्रममा रहेको र अदालतले समेत उनीहरुको जमानत अस्वीकार गरेको अष्ट्रेलियन सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको सुनुवाई अर्को साता हुनेछ ।