मेक्सिको हुँदै अमेरिका आएका युवाको अनुभव ः अमिगो भन्छ – ‘रयापितो रयापितो’


प्रकाशित मिति : फाल्गुन २, २०७३ सोमबार

-सुरेन्द्र पौडेल

झिसमिस साँझ पर्दा सम्म बाटो डोराउने व्यक्ति रयापितो रयापितो (स्पेनिस भाषामा छिटो छिटो) भन्दै थियो, जब झमक्क रात पर्न आँट्यो तब खोलाको किनारमा त्यो अमिगो भन्छ, अब यहीँ बास बस्नुपर्छ, पहिले बाटो लागेका साथीले फोनमा जंगलमा बास बस्नुपर्छ, सतर्क हुनु र आफ्नो ज्यानको सुरक्षा आफै गर्नु भनेको सुन्दा पत्यार लागेको थिएन्, तर आफैले त्यो भोग्नुपर्ने भएपछि चाँही हो रहेछ भन्ने लाग्यो ।

महँगो रकम दलालले लिएर यसरी खोलाको किनारमा ढुडंगामा सुत्नुको पिडा त छँदै थियो त्यसमाथी ज्यानै जानेको होकी भन्ने अर्को खतरा थियो । बाटो डोराउने अमिगोले घना जंगलको बिचमा अनि खोलाको किनारमा बास बस्नु पर्छ भनेपछि मेरो मन अमिलो भयो । हुनत हामी गु्रपमा २० जना थियौँ, तैपनि जंगलमा बाघ, भालु जस्ता जंगली जनावरको सिकार त भइने होइन भन्ने डरका कारण मनको धडकन तेजले चलि सकेको थियो ।

जंगलमा बास बस्नका लागि त तयार भैयो खाने के भन्ने अर्को समस्या थियो, हुनत हामी जब कोलम्बियाबाट पानामाको बाटो लागियो तब कोलम्बिया जुन घरमा हामी बसेका थियौँ त्यही घरको मालिकले झोलामा केही बिस्कुट, बदाम र दालमोठ राखि दिएको थियो । त्यही बेला दिमाले पत्तो पाइसक्यो कि बाटोमा खाना खान पनि नपाइन सक्छ । हामीलाई घना जंगलको बाटोमा बास बस्नका लागि तयार गरेपछि त्यही अमिगोले खानाको व्यस्था गदै थियो । म लगायत केही साथीहरु दाउराको बन्दो बस्त गर्नका लागि हिडियो ।

कुरा के रहेछ भने हामीलाई ल्याउने अमिगोले खाना खानका लागि झोलामा केही चामल र केही तरकारी बोकेको हुँदो रहेछ, त्यो पकाउनका लागि तयार भैयो । लगातार करिब १४ घण्टा हिडेपछि पेटमा मुसा दौडिरहेका थिए । कोलम्बियाबाट हिड्ने बेला दलालले राखिदिएको केही बिस्कुट र दालमोठ त अझ २,३ दिनका लागि पुराउनुपर्ने थियो । २० जना हामी र त्यो अमिगो सहित २१ जनाका लागि करिव ४ जनाका लागि पुग्ने भाँडोमा पकाएको खाना केराको पातमा लाईन लागेर थाप्न बसियो, चामल आधा मात्रै पाकेको थियो भने खोलामा मारेका माछाको तरकारीमा नुन र खुरसानी मात्रै थियो । तैपनि भोको भेटमा ८४ बेन्जन खाए बराबर हुँदो रहेछ ।

खाना खाएपछि अब सुत्नका लागि तयार भैयो, भोली फेरी घोडा जस्तै १४ देखी १५ घण्टा हिड्नुपर्छ । त्यस कारणपनि जसो तसो थकाई मेटाउनु थियो । हामी भन्दा पहिले पहिले हिँडेका साथीहरुले त्यहाँ सानो छाप्रो बनाएका रहेछन्, कमसेकम पानी पर्यो भने ओत्नका लागि । खोलाको किरानमा पानिको सुस्केर र जंगलमा बाघ भालुको आवाज अनि मनमा डर यि सबै चिजलाई जित्दो रहेछ थकाईले । शुरुमा त खुब डर लाग्यो म अलिक बाघ भालुसंग डराउने हुनालेपनि बाठो भएर बिचमा सुँते कम्सेकम ज्यान जोगियोस भन्नाका खातिर ।

त्यतिका रकम दलाललाई बुझाइयो, घर परिवारसंग कहिले भेट्ने, ज्यान जोगाएर अमेरिका कहिले पुगिन्छ त्यो पनि ठेगान छैन्, परिवारसंग फोनमा पनि कुरा नभएको धेरै दिन भइसकेको थियो । हामी कसैसंग पनि फोन थिएन्, त्यही हामीलाई बाटो डोराउने व्यक्तिसंग भएको फोन अगाडिको बाटोका बारेमा मात्रै प्रयोग हुन्थ्यो । यि सबै डरका बिचमा थकाईले पेल्दै गयो भने अर्को तिर त्यो बाघ भालुको आवाजले मनका डरको धडकन बढ्दै थियो । जसो तसो ३,४ घण्टा निदाएछु । पुरै निदपनि पुरा भएको थिएन्, बिहान सबेरै अमिगो भन्छ, अमिगो रयापितो रयापितो ।
(मेक्सिकोबाट सिमा पार गरेर हालै अमेरिका आएका पौडेलको अनुभव खसोखासका पाठकका लागि प्रकाशित गरेका हौं । यो अनुभवबाट दलाललाई गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुलाई दुरुत्साहन गर्नु हाम्रो उद्देश्य हो । )

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com