भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश
प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिनुभएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गर्नुभएको छ ।
अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले गरेको यस किसिमको यो पहिलो आदेश हो । अमेरिकाले हाल उत्तर कोरिया, इरान, सिरिया र क्युवाकै हाराहारीमा भेनेजुएलालाई राखेको छ ।
राष्ट्रपति ट्रम्पको आदेशबाट भेनेजुएला सरकारको अमेरिकामा रहेको सबै प्रकारका सम्पत्ति प्रभावित हुनेछ । आदेशमा रोक्का गरिएको भेनेजुएलाको सम्पत्ति अन्यत्र सार्न, भुक्तानी गर्न, झिक्न वा अरु कुनै काममा लगाउन नपाइने उल्लेख छ ।
राष्ट्रपति मदुरोलाई सत्ताच्यूत गर्न यसै वर्षको शुरुमा मुख्य विपक्षी नेता हुँवा गुएइदो आफैंले आफूलाई राष्ट्रपति घोषणा गर्नुभएको थियो । तर सेनाको बलियो समर्थन पाउनु भएका राष्ट्रपति मदुरोलाई सत्ताच्यूत गर्ने गुएइदो र अमेरिका समेतका केही मुलुकको प्रयास सफल हुन सकेन ।
राष्ट्रपति मदुरोलाई रुस र चीनजस्ता मुलुकको समर्थन रहेको छ भने गुएइदोलाई अमेरिका र युरोपेली युरोपेली मुलुकका केही देशको समर्थन छ ।
अमेरिका र युरोप समेतका मुलुकका साथै देशभित्रै बढेको विरोधका कारण हाल राष्ट्रपति मदुरो र विपक्षी गुएइदोबीच उपयुक्त राजनीतिक समाधान खोज्न वार्ताहरु भइरहेका छन् ।
यी वार्ताहरु नर्वे र बार्बाडोसमा भइसकेका छन् ।