समुन्द्र किनाराबाट १४ बोतल बालुवा चोर्नेहरु ६ बर्ष जेलको सामना गर्दै
प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार
इटालियन आइल्याण्डबाट सेतो बालुवा चोर्ने एक जोडीले ३३ सय डलर जरिवाना र ६ बर्षसम्म जेल सजायको सामना गर्नसक्ने भएका छन् । पर्यटकका रुपमा घुम्न आएका एक जोडीले समुन्द्र किनाराबाट १४ बोतल बालुका निकालेर गाडीमा हालेका थिए ।
इटालियन आइल्याण्डको सेतो बालुवा संरक्षित रहेको र कसैले निकालेमा जेल तथा जरिवाना हुने प्रावधान रहेपनि उक्त जोडीले यसरी बालुका निकाल्नु अपराध रहेकोबारे आफूहरुलाई थाहा नभएको बताएका छन् । अन्दाजी ४० बर्षको उमेरका ती जोडीले झण्डै ४० किलो बालुवा १४ वटा बोतलमा भरेर गाडीमा हालेका थिए ।
समुन्द्र किनारामा विभिन्न भाषामा बालुवा निकाल्न नहुनेबारे सुचनाहरु राखिएको छ । उक्त समुन्द्र किनाराबाट सेतो बालुवाको चोरी सामान्य रहेको र उक्त बालुवा गैरकानुनी रुपमा इन्टरनेटबाट बेच्ने गरिएको प्रहरीले जनाएको छ ।
सार्डिनिया क्षेत्रमा बस्ने स्थानीयहरु पर्यटकहरुदेखि निकै बेखुशी हुने गरेका छन् । पर्यटकहरुले बेलाबेलामा सेतो बालुवा चोरेर वातावरणमा नै नकारात्मक असर परिरहेको स्थानीयको भनाई छ । बालुवाचोरहरु प्राय विमानस्थलमा लगेज स्क्यान गर्नेक्रममा भेटिने गरेका छन् ।