बहामसमा आँधीको प्रलयकारी वितण्डा, फ्लोरिडा, जर्जिया र साउथ क्यारोलाइनामा खाली गराईदै


प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार

विनाशकारी आँधी डोरियन बहामसमा प्रवेश गरेसँगै प्रलयकारी वितण्डा सुरु गरेको छ । आइतबार विहानै १८५ माइल प्रतिघण्टाको गतिमा आएको उक्त आँधी पछि १७० माइल प्रतिघण्टाको गतिमा झरेको जनाइएको छ ।

यो आँधी एटलान्टिकमा आएको अमेरिकी इतिहासकै दोश्रो ठूलो आँधी रहेको जनाइएको छ । यसअगाडि सन् १९८० मा एलेन नामको बलियो आँधी आएको थियो, जुन प्रतिघण्टा १९० माइलको गतिमा रहेको थियो ।

आँधीका कारण बहामसमा भवनहरु भत्किएको जनाएको छ भने कैयन स्थानमा पहिरो गएको छ । एल्बो के, म्यान ओ वार, मार्स हार्वर लगायतका क्षेत्रमा कैयन घरहरु डूबानमा परेका छन् । उत्तरी बहामसबाट भने क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

आँधी सोमबार अमेरिकाको मुख्यभूमि फ्लोरिडा प्रवेश गर्ने जनाइएको छ । आँधीबाट प्रभावित हुनसक्ने स्थानहरु खाली गराइएको छ । फ्लोरिडा, जर्जिया र साउथ क्यारोलाइनामा कैयन स्थानहरु खाली गराउन निर्देशन दिइएको छ । बुधबार जर्जिया, साउथ क्यारोलिना र नर्थ क्यारोलिनामा आँधीले प्रभाव पार्ने अनुमान गरिएको छ ।

डोरियन आँधीका कारण सोमबार दिउसो फ्लोरिडाका विमानस्थलहरु बन्द गरिने भएको छ । आँधीका कारण ओल्र्याण्डो मेलबर्न इन्टरनेशनल एयरपोर्ट र फोर्ट लाउडरडेल हलिउड इन्टनेशनल एयरपोर्टले सोमबार दिउसो ब्यापारिक उडान र टर्मिनलहरु बन्द गर्ने घोषणा गरेका छन् ।

अहिलेसम्म ती विमानस्थलबाट उड्ने र अवतरण गर्ने ७ सय ७० वटा उडानहरु स्थगित गरिएका छन् । आँधीका कारण फ्लोरिडामा कैयन विमानहरुले यात्रुहरुलाई विना थप शुल्क टिकटहरु परिवर्तन गर्ने सुविधा समेत दिएका छन् ।

आँधी खतराका हिसाबले अधिक खतरनाक अर्थात् पाँचौं श्रेणीको रहेको जनाइएको छ । सबैभन्दा कम खतरनाक आँधी पहिलो श्रेणीको हुनेगर्छ भने आँधीको गतिसँगै श्रेणीपनि बढ्दै जान्छ । १५७ माइल प्रतिघण्टा वा त्योभन्दा माथिको आँधी पाँचौं श्रेणीको मानिन्छ ।

सोमबार विहान आँधी अमेरिकाको मुख्यभूमि फ्लोरिडा राज्यमा छिर्ने बताइएको छ । सोमबार साँझतिर आँधी उत्तरपश्चिम क्षेत्रतिर लाग्नेछ । मंगलबारसम्म भने आँधी चौथो श्रेणीमा झर्ने सम्भावना रहेको छ । मंगलबार आँधीको गति प्रतिघण्टा १४० माइलमा झर्ने अनुमान गरिएको छ ।

बुधबारपनि आँधीको गति तीब्र नै रहने जनाइएको छ । जर्जिया, साउथ क्यारोलिना र नर्थ क्यारोलिनामा आँधीको प्रभाव पर्ने अनुमान गरिएको छ । बिहिबार आँधीले क्यारोलाइना क्षेत्रमा पहिरो समेत जानसक्ने मौसमविदहरुले चेतावनी दिएका छन् । शुक्रबार नर्थ क्यारोलिनाको सामुन्द्रीक किनारहुँदै आँधी बाहिरिने अनुमान गरिएको छ ।

एटलान्टिक हरिकेन सिजनकै सबैभन्दा ठूलो यो आँधी फ्लोरिडा प्रवेश गर्नुअगाडि त्यसको सामना गर्न र बच्न तयारीहरु गरिएको छ ।

आँधीको समयमा घरभित्रै बस्न, झ्यालढोकाहरु प्लाइउडले संरक्षण गर्न, ताजा अपडेटका लागि स्थानीय रेडियो टेलिभिजन हेर्न, मोबाइल रेडक्रसको आपतकालिक एप्लिकेशन डाउनलोड गर्न, हरिकेन बत्ति राख्न, आफ्ना घरपालुवा जनावरमा पहिचान खुल्ने ट्याग लगाइदिन, स्थानीय आपतकालिन सेल्टरहरु खोज्न, प्लास्टिकका बोतलहरु पानीले भरेर राख्न सुझाव दिइएको छ ।

फ्लोरिडा राज्यभरी संकटकालको समेत घोषणा गरिएको छ । त्यहाँका गभर्नरले कम्तीमा एकसाताका लागि खाना, पानी र औषधीको जोहो गर्न स्थानीयबासीलाई सुझाव दिएका छन् ।

आँधीको चेतावनीपछि स्थानीयबासिन्दाहरुले सामान किन्दा कैयन स्टोरहरु खाली भइसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com