चिनियाँ सुरक्षाकर्मी काठमाडौंमा,सीका लागि सोल्टी तीन दिन खाली !
प्रकाशित मिति : आश्विन २५, २०७६ शनिबार
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सुरक्षाका लागि ५० चिनियाँ सुरक्षाकर्मी काठमाडौं आइसकेका छन् । उनीहरूले सीको रुटको सूक्ष्म अध्ययन गरेका छन् । कतिपय सूचना संकलनमा खटिएका छन् । सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । सी चढ्ने गाडीसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ ।
सीको भ्रमणका लागि सरकारले सोल्टी होटेल तीन दिनका लागि बुक गरेको छ । सुरक्षाका कारण होटेलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो । सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । होटेलमा दुई सय ८३ कोठा छन् । जसअनुसार तीन दिनको एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजसमेत सोल्टी होटेलमै दिनेछिन् ।
तिब्बती शरणार्थी तथा केही मानवअधिकारवादीले प्रदर्शनको तयारीको सूचना पाएपछि शनिबार र आइतबार चिनियाँ दूतावास र कन्सुलर अफिसअगाडिको सडकमा आवतजावत रोक्ने भएको छ । प्रहरी स्रोतका अनुसार दुई ठाउँमा सडक डाइभर्सनको निर्णय भइसकेको छ ।
सीको सवारीका क्रममा एक घन्टासम्म रोड खाली हुने भएको छ । पैदलयात्रुलाई समेत रोक्ने गरी सडक खाली गर्न लागिएको छ । विमानस्थलदेखि तिनकुने, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै उनी सोल्टी होटेल पुग्नेछन् । त्यहाँबाट राष्ट्रपतिनिवास शीतलनिवास जाने कार्यतालिका छ । फर्कंदा पनि कम्तीमा एक घन्टा सडक खाली हुने एक ट्राफिक प्रहरी अधिकारीले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक सडक प्रयोग गर्न अपिल गरेको छ । सडक व्यवस्थापनका लागि समेत सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।