देश आफै बन्दैन : मोदीले उठाए समुद्री तटको फोहोर !
प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार तमिलनाडुको मामल्लापुरमको एउटा समुद्रतटमा खाली खुट्टामा हिँडेका देखिन्थे । उनको एउटा हातमा प्लास्टिकको झोला थियो । तत्कालै मोदीले समुद्री तटमा फालेका बोतल, प्लास्टिक प्लेट र अन्य फोहोर संकलन गरेर प्लास्टिकका झोलामा संकलन गरे । मोदीले ताज फिसरमेन्स कोभ रिसोर्ट एन्ड स्पाननजिकैबाट आधाघन्टा फोहोर संकलन गरेका हुन् ।
कालो कुर्ता र पाइजामामा सजिएका मोदीले एउटा ठूलो प्लास्टिकको झोलामा झन्डै आधा घन्टा फोहोर संकलन गरेका थिए । उनले फोहोर संकलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शुक्रबार मामल्लापुरमममा अनौपचारिक भेटवार्ता गरेका थिए । सीको स्वागतका क्रममा समुद्री किनारामा केही फोहोर थुप्रिएको थियो । सो फोहोर सरोकारवाला निकायका व्यक्तिले उठाउन सक्थे । तर, वातावरणलाई स्वच्छ राख्ने सन्देशका साथ सो फोहोर मोदी आफैँले संकलन गरेका हुन् । बालुवामाथि नांगो खुट्टामा देखिएका मोदीले प्लास्टिकका चप्पल उठाएका देखिन्थे ।
शृंखलाबद्ध टिवटमा स्वच्छ भारत अभियानप्रति आफू प्रतिबद्ध रहेको भन्दै मोदीले भनेका छन्, ‘मामल्लापुरस्थित समुद्री तटमा ३० मिनेट सफा गरियो । मैले संकलन गरेको फोहोर होटेलका कर्मचारीलाई सुम्पिएको छु । सार्वजनिक स्थान सफा होस् भन्ने सुनिश्चित गरौँ ।’ फोहोर संकलन गरेको भिडियोलाई मोदीको ट्विटरमा अपलोड गरिएको छ, जसलाई हजारौँले मन पराएका छन् । समुद्री तटमा केहीबेर हिँडडुल र व्यायाम गरेको मोदीले बताएका छन् । शुक्रबार मोदीले मामल्लापुरममा चीनका राष्ट्रपति सी जिनपिङसँग वार्ता गरेका थिए । दुई नेताबीच व्यापारसम्बन्धी वार्ता भएको थियो ।