राष्ट्रपति सीको मन्द मुस्कान…….
प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिनुभएको थियो । नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उहाँको मुद्रा खुसी देखिन्थ्यो ।
स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँको बिदाइ स्वरुप आयोजना गरिएको मौलिक नृत्यमा उहाँ केही बेर टक्क अडिनु भयो । नृत्य अवलोकनका समय उहाँको मुहारमा मन्द मुस्कान झल्किएको थियो । उहाँका सामु कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउरे, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरेका थिए ।
त्यसो त नेपाली मौलिक पोशाकमा सजिएर आफ्नो बिदाइमा लामबद्ध विद्यार्थी र बालबालिकासँग औधि रमाउँदै उहाँले केही बेर भलाकुसारीसमेत गर्नुभयो । बालबालिकाले चिनियाँ भाषाको प्रयोग गरेर ‘नेपाल भ्रमण गर्नुभएकामा यहाँलाई धेरैधेरै धन्यवाद’ भन्दै भेट्न पाएकामा खुसी व्यक्त गर्दा र बिदाइको हात हल्लाउँदा चिनियाँ भाषामै उहाँले बालबालिकालाई धन्यवाद फर्काउनुभएको थियो ।
विमानस्थलको विशिष्ट कक्षमा बालबालिका र विद्यार्थीले नेपाली र चिनियाँ झण्डा फहराएर शनिबार उहाँको स्वागत र आइतबार बिदाइ गरेका थिए । स्वागतका क्रममा बालबालिकासँग निक्कै खुसी देखिनुभएका राष्ट्रपति सीले बिदाइका क्रममा नेपालको सातै प्रदेशको पहिचान झल्कने मौलिक पोशाक लगाएर कलाकारले प्रस्तुत गरेको नृत्यमा भरपुर मनोरञ्जन लिनुभयो ।
एक बालिका भिन्तुना श्रेष्ठले चीनका राष्ट्रपति सीलाई नजिकबाट देख्न र आफ्नो मौलिक पहिचान देखाउन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिनुभयो । सीको शारीरिक हाउभाउले नै नेपालीको न्यानो स्वागत र मौलिक नृत्यबाट प्रभावित भएको प्रष्टिन्थ्यो । त्यसो त शनिबारको रात्रिभोजका क्रममा उहाँले नेपालीको सामाजिक सद्भाव देख्दा हर्षित भएको प्रतिक्रिया दिनुभएको छ ।
त्यसो त दुईदिने भ्रमणका क्रममा आउँदा र जाँदा नै विमानस्थलदेखि राष्ट्रपति भवन र निवास होटल सोल्टीको सडकसम्मै सजाइएको दृष्यले उहाँलाई प्रफुल्लित बनाएको विश्वास गर्न सकिन्छ । राष्ट्रपति सीले विमानस्थलमा प्रवेश गर्नुअघि विशिष्ट कक्षको अन्तिम द्वारमा पुगेपछि पुनः फर्किएर हात हल्लाउँदै सबैलाई अभिवादन गर्दा विशिष्ट कक्ष बिदाइका स्वरले गुञ्जिएको थियो । सो क्रममा कलाकार र बालबालिकाले पुष्पगुच्छा र दुवै देशको झण्डा फहराएर ‘बाईबाई’ गरेका थिए ।
आइतवार राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेर बिदाइ गर्नुभएको थियो । यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलेले बिदाइ गर्नुभएको थियो ।
चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारी र सरकारी अधिकारीको उपस्थिति थियो । उहाँलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी तथा सम्मान गारत प्रदान गरेको थियो ।
भ्रमणका क्रममा सर्वसाधारण, सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले उहाँलाई सडकमै बसेर स्वागत गरेका थिए । उहाँको स्वागत तथा सम्मानका लागि काठमाडौँका विभिन्न क्षेत्र चिटिक्क पारिएको थियो । शनिबार अपराह्न ४ः४५ बजे विमानस्थल टेक्नुभएका सीले झण्डै २२ घण्टा नेपालमा रही आइतवार अपराह्न २ ः४४ मा स्वदेश फर्कनुभयो ।
उहाँको बिदाइ र स्वागतमा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो । कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उहाँको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे ।
राष्ट्रपति सीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो । ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’, लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति भण्डारीसँग भेटवार्ता र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुभएको थियो । चिनियाँ विशिष्ट पाहुनाको स्वागतमा राष्ट्रपति भण्डारीले शनिबार आयोजना गर्नुभएको राजकीय भोजमा सरिक हुँदै सीले दुई देशको मित्रता अझै प्रगाढ बनेर जाने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रपति भण्डारीले पनि दुई देशको सम्बन्ध सगरमाथा जस्तै उच्च र सागर जस्तै गहिरो रहेको भन्दै भ्रमणले सम्बन्धमा अझै उचाइमा थपेको उल्लेख गर्नुभएको थियो । भ्रमणका क्रममा आज सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षरसमेत भएको छ ।
यसअघि उहाँले बिहान नेपाल कम्युष्निट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नुभएको थियो भने अन्य नेताहरुसँग भेटघाट गरी दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न आग्रह गर्नुभएको थियो । शनिबार साँझ उहाँले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको थियो ।