क्यालिफोर्निया : डढेलाले २३ लाखका घरमा अन्धकार, १ लाख ८० हजारलाई घर छाड्न निर्देशन
प्रकाशित मिति : कार्तिक १०, २०७६ आईतबार
क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोको कारण झण्डै २० लाख क्यालिफोर्निया बासिन्दाहरु अन्धकारमा बस्नुपर्ने भएको छ भने १ लाख ८० हजारलाई घर छाडेर सुरक्षित स्थलमा जान चेतावनी दिइएको छ । आगोका कारण उत्तरी क्यालिफोर्नियाको सान्ता रोजा सिटी जोखिममा परेको जनाइएको छ ।
विद्युत आपूर्ति कम्पनीले ९ लाख ४० हजार घरमा विजुली काट्ने बताएको छ । जसबाट ३८ काउन्टीका झण्डै २३ लाख बासिन्दाहरु प्रभावित हुने भएका छन् । विद्युत आपूर्ति कम्पनीले ग्राहकहरुलाई २४ देखि ४८ घण्टाभित्र यसबारे सुचना प्रवाह गरिरहेको छ ।
ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा बन्द गरिने भएको हो ।
त्यस्तै विद्युतका ट्रान्समिसन टावरहरुमा पनि आगोले क्षति पुराएको छ । अहिले झण्डै १ हजार अग्नी नियन्त्रकहरु आगो नियन्त्रणका लागि खटिएका छन् ।
नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका झण्डै ५० हजार बासिन्दालाई अन्यत्र सारिसकिएको छ ।
क्यालिफोर्नियाको जङ्गल तथा अग्नि नियन्त्रण विभागका अधिकारीले आगो अत्यन्त चाँडो फैलिएको जानकारी दिएका छन् ।
आगोले अहिलेसम्म ५० वटा संरचना ध्वस्त पारिसकेको र अरु हजारौँ घरमा क्षति पु¥याउने देखिएको विभागका अधिकारीको भनाइ छ ।
उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो ।