न्युयोर्कमा २ डलर ७५ सेन्टस् ट्रेनको भाडा नतिरका किशोरलाई पक्रन प्रहरीको हुल


प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार

न्युयोर्कमा ट्रेनको भाडा नतिरी छिरेका एकजना १९ बर्षका किशोरलाई पक्रन प्रहरीको बल प्रयोग गरिएको घटनाले विवाद सृजना गरेको छ । ट्रेनको सिटमा बसेका उनलाई प्रहरीले बल प्रयोग गरी भूईमा लडाएर पक्राउ गरेको थियो ।

शुक्रबार न्युयोर्कको ब्रुकलिन फ्रयांकलिन एभिन्यु स्टेशनमा ४ नम्बर ट्रेनमा भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ट्रेनभित्र रहेका ती किशोरमाति प्रहरीले बन्दुक ताकेपछि उनले दुबैहात माथि उठाएका थिए । ट्रेनमा भागदौड मच्चिएको थियो ।

 

प्रहरीको हुल आएर उनीमाथि बल प्रयोग गरेर पक्राउ गर्नु अगाडि उनले आमालाई बोलाइदिन भन्दै अनुरोध गरेका थिए । तर लगत्तै ट्रेनभित्र छिरेका प्रहरीका हुलले उनलाई भुईमा लडाएर हतकडी लगाएका थिए ।

प्रहरीले उनीसँग बन्दुक रहेको आशंकामा त्यसो गरेको बताएको छ । तर उनीसँग बन्दुक नभेटिएपछि उनलाई २ डलर ७५ सेन्ट भाडा नतिरी ट्रेनमा छिरेको आरोप लगाइएको छ । उनलाई हिराशतमा लिएर छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक यातायातमा एकपटक भाडा छलेर चढेका व्यक्तिलाई बन्दुक ताकेर पक्राउ गरेकोमा चौतर्फी आलोचना भएको छ । प्रहरीले भने प्रत्यक्षदर्शीले एटलान्टिक र फ्लाटबस एभिन्युको बीचमा ती १९ बर्षको किशोरसँग बन्दुक रहेको बताएपछि यस्तो कदम चाल्नुपरेको बताएको छ । प्यासेफिक स्ट्रीट स्टेशनबाट भागेका ती किशोरलाई पक्राउ गर्नका लागि फ्रयांकलिन एभिन्युमा कम्तीमा १० जना प्रहरी अधिकारीहरु तयारी अवस्थामा रहेका थिए ।

प्रहरीले भने ती किशोर क्रिप्स स्ट्रीट गिरोहका सदस्य रहेको बताएको छ । जसमध्ये १४ जना पक्राउ परिसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com