लरीमा भेटिएका मृतक सबै भियतनामी
प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार
बेलायतमा डेढ साताअघि एउटा लरीको कन्टेनरमा मृत अवस्थामा फेला परेका सबै भियतनामी नागरिक भएको बेलायत प्रहरीले जनाएको छ । पछिल्लो अनुसन्धानबाट उनीहरू सबैजना भियतनामी भएको प्रहरीले जानकारी दिएको हो । लन्डनका प्रहरी उपप्रमुख टिम स्मिथले ३९ शवको अनुसन्धानबाट यस्तो निष्कर्ष निकालिएको बताए । उनले अहिलेसम्म कुनै पनि मृतकको सनाखत भने भइनसकेको र पत्ता लगाउने प्रक्रियामै रहेको बताए । स्मिथले आफूहरू भियतनाम सरकारको सम्पर्कमा रहेको र मृतकहरूकोे सनाखत पुष्टि गर्ने प्रमाण संकलन भइरहेको जानकारी दिए ।
‘मृतकको परिचय पत्ता नलागेको, तर उनीहरूका बारेमा अनुसन्धान र प्रमाण संकलनको काम पनि भइरहेको छ,’ स्मिथले भने । शव भेटिएको केही समयपछि प्रारम्भिक अनुसन्धान गर्दा प्रहरीले उनीहरू सबै चिनियाँ नागरिक हुन सक्ने बताएको थियो । गत अक्टोबर २३ मा ग्रेज एसिक्समा कन्टेनरमा ३९ शवसहित एउटा लरी भेटिएको थियो ।
ती शवमध्ये ३१ पुरुष र आठ महिलाका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको छ । शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले ‘आफ्नो विदेश यात्रा असफल भएको’ परिवारलाई सन्देश पठाएको विवरण सो घटनापछि सार्वजनिक भएको थियो ।
लन्डनस्थित भियतनामी दूतावासले शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकको शव स्वदेश फिर्ता गर्न परिवारजनलाई सघाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । प्रारम्भिक विवरणहरूमा सो कन्टेनर बेल्जियमबाट आएको देखिएको छ । शवहरू फेला परेपछि उत्तरी आयरल्यान्डका चालक मोरिस रबिन्सनलाई पक्राउ गरिएको थियो । मृतकहरू अवैध आप्रवासी हुन सक्ने अनुमान गरिएको छ ।