अमेरिकाले सन् २०१९ मा दियाे १९ जनालाई मृत्युदण्ड
प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार
अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीय महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले जानकारी दिएकाे छ ।
अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती हत्या गरिएकी महिलाको शव गाडेका थिए । “आर्यन सर्कल” नामको समूह (ग्याङ)ले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलले ती महिलाको हत्या गरेको सरकारी वकिलले बताएका छन् ।
हलका वकिलहरुले मानसिक अस्वस्थताका कारण हलले ती महिलाको हत्या गरेको भन्दै माफी दिन अदालतसमक्ष आग्रह गरेका थिए । तर हल स्वयंले सन् २०१७ मा अदालतमा पुनः सुनुवाईका लागि आवेदन नगर्न वकिलहरुलाई आग्रह गरेका थिए । संयुक्तराज्य अमेरिकामा यसै वर्ष मृत्युदण्ड दिइएका हल १९ औं व्यक्ति हुन् । तीमध्ये आठ जनालाई टेक्सासमा मृत्युदण्ड दिइएको छ ।