अमेरिकी इतिहासमै पहिलोपटक एसाइलम आवेदनका लागि शुल्क लिने तयारी
प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार
अमेरिकी सरकारले फर्म आई ५८९ एसाइलम आवेदनका लागि ५० डलर शुल्क लिने तयारी गरेको छ । यसबारेको प्रस्तावित नियम नोभेम्बर १४ मा फेडरल रजिस्टरमा औपचारिक रुपमा प्रकाशित हुनेछ । अहिलेसम्म अमेरिकामा एसाइलम आवेदन निशुल्क दिनसकिने प्रावधान रहेको थियो ।
इरान, फिजी, अष्ट्रेलिया लगायतका देशमा एसाइलमका लागि शुल्क लिने गरिएको उल्लेख गर्दै अमेरिकामा पनि शुल्क लिने प्रस्ताव गरिएको युएससीआईएसले जनाएको छ । अष्ट्रेलियामा २५ डलर, फिजीमा २२१ डलर र इरानमा २९२ डलर लाग्ने उदाहरण युएससीआईएसले दिएको छ । युएससीआईएसले आवेदकले बुझाउने शुल्कबाट चल्ने भएकाले शुल्कमा समायोजन गर्नुपरेको युएससीआईएसले जनाएको छ ।
त्यस्तै अमेरिकी नागरिकताका लागि दिइने आवेदनको शुल्क पनि बढाउन प्रस्ताव गरिएको छ । अहिलेसम्म अमेरिकी नागरिकताको आवेदन शुल्क ६४० डलर रहदै आएकोमा अब ११७० डलर बनाउन प्रस्ताव गरिएको छ । नागरिकताको फर्म एन ४०० का लागि प्रस्तावित नयाँ शुल्क अहिलेको तुलनामा ८३ प्रतिशत बढी हो ।
त्यस्तै अहिलेसम्म ग्रिनकार्ड आवेदन आई ४८५ का लागि १४ बर्ष मुनीका बालबालिकाका लागि ७५० डलर शुल्क रहेको छ भने १४ बर्षभन्दा माथिका आवेदकका लागि ११४० डलर शुल्क रहेको छ । तर यो शुल्क बराबर बनाउन समेत प्रस्ताव गरिएको छ । सबै आवदेकका लागि आई ४८५ का लागि ११२० डलर शुल्क प्रस्ताव गरिएको छ । तर आई ४८५ आवेदन, बायोमेट्रिक र सबै अन्तरिम सुविधाका लागि अहिलेसम्म प्याकेजमा १२२५ डलरमात्र लाग्ने गरेकोमा प्रस्तावित शुल्क अनुशार २१९५ डलर लाग्नेछ । अर्थात् अहिलेको तुलनामा ७९ प्रतिशत बढी लाग्नेछ ।
वर्क परमिटका लागि अहिलेको शुल्क ४१० डलर रहेकोमा प्रस्तावित शुल्क ८० डलर बढाएर ४९० डलर रहेको छ । ट्राभल डकुमेन्टका लागि भर्ने आई १३१ फर्मका लागि अहिले ५७५ डलर शुल्क रहेकोमा प्रस्तावित शुल्क ५८५ डलर रहेको छ ।
बायोमेट्रिक शुल्क ८५ डलर लिइदै आएकोमा अब बायोमेट्रिक शुल्क शीर्षकमा छुट्टै रकम नलिइने प्रस्ताव गरिएको छ । बायोमेट्रिक आवश्यक पर्ने सबै आवेदनका सन्दर्भमा मुल आवेदनमा नै यो शुल्क समावेश गरिएको छ ।
अहिले बायोमेट्रिक र आई ४८५ आवेदनका लागि १२२५ डलर लाग्दै आएकोमा प्रस्तावित शुल्क अनुशार दुबै सुविधाका लागि ११२० डलरमात्र लाग्नेछ । तर आई ४८५, वर्क परमिट, बायोमेट्रिकका लागि प्याकेजमा ११२५ डलर लाग्दै आएकोमा प्रस्तावित शुल्क अनुशार १६१० डलर लाग्नेछ ।
कुन आवेदनका लागि अहिले कति शुल्क छ ? प्रस्तावित शुल्क कति छ ? सम्पूर्ण विवरण ।
त्यस्तै आई ४८५, बायोमेट्रिक र ट्राभल डकुमेन्टका लागि अहिलेसम्म १२२५ डलर लाग्दै आएकोमा प्रस्तावित शुल्क अनुशार १७०५ डलर लाग्नेछ । आई ४८५, बायोमेट्रिक, ट्राभल डकुमेन्ट र वर्क परमिट लगायत पूर्ण प्याकेजका लागि पनि अहिले १२२५ डलर नै लाग्दै आएको छ तर प्रस्तावित शुल्क लागु भएमा त्यसका लागि २१९५ डलर तोकिएको छ ।
गैरआप्रवासी कामदारका लागि फाइल गरिने आई १२९ का लागि अहिलेको शुल्क ४६० डलर रहेको छ । तर प्रस्तावित शुल्क अनुशार त्यसलाई विभिन्न श्रेणीमा विभाजन गरेर ८६० डलरसम्म लिने उल्लेख छ ।
शीघ्र प्रकृयाको आवेदन अर्थात प्रिमियम प्रोसेसका लागि १४१० डलर शुल्क लाग्दै आएकोमा सरकारले उक्त आवदेनका लागि भने नयाँ शुल्क प्रस्ताव गरेको छैन । तर अहिलेसम्म १५ क्यालेण्डर दिनमा प्रिमियम प्रोसेस गर्ने प्रावधान रहेकोमा त्यसलाई १५ बिजनेश दिन बनाउन प्रस्ताव गरिएको छ । १५ बिजनेश दिन भन्नाले संघीय विदा, सप्ताहन्त बाहेकका काम गर्ने दिनहरुमात्र बुझाउँछ ।