अष्ट्रेलियाका ५ सरकारी विद्यालयमा नेपाली विषय पढाईंदै
प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार
अस्ट्रेलियाका दुई राज्यका पाँच सरकारी विद्यालयमा नेपाली विषयलाई पाठ्यक्रममा समावेश गरिएको छ । न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा पढाइदै आएको जनाइएको छ ।
अस्ट्रेलियाले आफ्नो सरकारी पाठ्यक्रममा विद्यार्थी तथा विद्यालयको रुचिअनुसार अन्य देशका भाषा समेट्दै आएकोमा नेपाली भाषा ससेत मेटेको हो । नेपालीको धेरै बसोबास रहेको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित कोग्राह, रकडेल र दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी र सालिस्बरी स्कुलमा नेपाली भाषाको पठनपाठन सुरु भएको छ । कोग्राह विद्यालयमा नेपालीका अतिरिक्त चीनिया, हिन्दी भाषका पाठ्यपुस्तक समेत रहेका छन् ।
पाठ्यक्रममा नेपाली भाषा, चाडपर्व र कलासंस्कृतिलाई समेटिएको छ । त्यसका लागि सरकारी स्तरबाटै स्थायी शिक्षकसमेत नियुक्त गरिएको जनाइएको छ । विगत ६ वर्षदेखि अस्ट्रेलियामा स्थायी सरकारी शिक्षकका रूपमा काम गरिरहेका लोक सफल पौडेलले दक्षिण अस्ट्रेलियामा नेपाली भाषा पढाउने शिक्षकको जिम्मेवारी पाएका छन्।
त्यहाँ कक्षा ८ देखि १२ कक्षासम्म नेपाली भाषा अध्यापन गराइने गरिएको छ । तीन विद्यालयका माध्यमिक तहमा करिब १ सय २० विद्यार्थी नेपाली भाषा अध्ययन गरिरहेका छन्।
सिड्नीका दुई विद्यालयमा भने प्राथमिक तहमा मात्र नेपाली विषय अध्यापन हुने गरेको छ । त्याँ करिब १ सय २० विद्यार्थी अध्ययनरत छन्।