बैंकबाट मोटो रकम निकालेका ग्राहक लुट्न बैंककै कर्मचारी ग्राहकका घरमा
प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार
अमेरिकाको मेरिल्याण्डमा बैंकबाट मोटो रकम निकालेपछि घर गएका एक ग्राहकलाई लुट्न बैंककै कर्मचारी उनको घरमा गएर आक्रमण गरेको खुलासा भएको छ । मेरिल्याण्डको बेल एयर निवासी एकजना ७८ बर्षीय बृद्धले बैंकबाट धेरै नगद निकालेपछि बैंकका कर्मचारीले उनको ठेगाना पत्ता लगाएर घरमा पुगी लुट्ने प्रयास गरेका थिए ।
बैंकका कर्मचारी १९ बर्षको नाथान न्युवेललाई प्रहरीले पक्राउ गरेर डकैती र आक्रमणको मुद्दा चलाएको छ । बृद्धाले रकम निकालेपछि फाउन्टेन ग्रिकको फ्रिडम फेडरल क्रेडिट युनियनमा काम गर्ने उक्त युवा उक्त रकम लुट्न घरमै पुगेको जनाइएको छ ।
आक्रमणका क्रममा बृद्धाको खुट्टा भाँचिएको छ भने बृद्धाकी ५७ बर्षिय सौतेली छोरीमाथि पनि आक्रमण भएको छ । लुट्ने उद्देश्यले गएको व्यक्ति रकम लुट्न भने नपाएको जनाइएको छ ।
मास्क लगाएर आएको उक्त व्यक्तिले झण्डै २० सेकेण्डसम्म बृद्धको घाँटी समेत अठ्याएको जनाइएको छ । सौतली छोरीले बन्दुक निकालेर आक्रमणकारीतिर तेर्साएर ट्रिगर खिचेकी थिइन् । तर बन्दुक लोड नभएकाले पड्केन ।
लुट्ने उद्देश्यले बृद्धको घरमा पुगेको उक्त व्यक्तिले आफू दुईदुईवटा जागिर गर्दा गर्दा निकै थाकेको बताएको थियो । उक्त व्यक्तिलाई धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ ।