‘सिमा अतिक्रमणको विषयलाई लिएर पैँतीस दिनभित्र अन्तर्राष्ट्रिय अदालत जानुपर्छ’


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका विषय जटिल बन्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले सरकारले सीमा अतिक्रमण बारेको मुद्दालाई बेलैमा अन्तर्राष्ट्रिय अदालत र सुंयक्त राष्ट्र सङ्घमा लैजान नसकेको भन्दै ३५ दिनभित्र सरकारले यो विषय उक्त स्थानमा लानुपर्ने बताउनुभयो ।

उहाँले भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो बनाउनु र यस विषयमा नेपाल सरकारले कुनै ठोस पहलतर्फ लाग्न नसक्नु कमजोरी भएको आरोप लगाउनुभायो । नेपालको कूटनीतिक पक्ष सदैव कमजोर रहेको भन्दै बिजुक्छेले कूटनीतिक असफलताकै कारण वैदेशिक हस्तक्षेप तीव्र बन्दै गएको बताउनुभयो । चीनले नेपालको सीमा नमिचेको दाबी गर्दै बिजुक्छेले चीनले सीमा मिचेको विषय हल्लामात्र भएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मन्त्रिमण्डल पुनर्गठनको विषयमा अध्यक्ष बिजुक्छेले सरकारले हाल भएका मन्त्रीलाई किन हटायो र नयाँ मन्त्री किन ल्यायो भन्ने कुनै ठोस विषय जानकारी दिन नसक्नु सरकारको असक्षमता भएको बताउनुभयो । तीन तहको सरकारले झनै जटिलता निम्त्याएको बताउँदै उहाँले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको भन्नु नै जनतालाई भ्रममा पार्नु हो भन्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com