क्यालिफोर्नियाको सालिनास भ्यालीको रोमेन लेटसमा पनि संक्रमण, ४० जना बिरामी
प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार
अमेरिकाको इष्टकोस्टमा रहेको न्युजर्सी स्वीडेसबोरोको मिसा बे एलएलसीले वितरण गरेको सलाद खाँदा १७ जना बिरामी परेको खबर सेलाउन नपाउँदै वेष्टकोष्टबाट पनि यस्तै खबर आएको छ । क्यालिफोर्नियाको सालिनास भ्यालीको रोमेन लेटस खाँदा कम्तीमा ४० जना बिरामी भएका छन् ।
संघीउ स्वास्थ्य विभागका कर्मचारीहरुले उक्त कम्पनीको रोमेन लेटस र सलाद नखान सर्वसाधारणहरुलाई चेतावनी दिएका छन् । उक्त सागमा पनि इकोली ब्याक्टेरियाको संक्रमण भएको र उक्त संक्रमणबाट १६ राज्यमा ४० जना बिरामी भएको जनाइएको छ ।
यदि कुनै ग्राहकले उक्त साग किनेको भएमा फ्याक्न, रेष्टुरेण्टहरुलाई यो सागको सलाद बिक्रि नगर्न, स्टोरहरुलाई नबेच्न र ग्राहकहरुलाई नकिन्न सुझाव दिइएको छ । सिंगो, काटिएको, मिसाइएको वा कुनै पनि प्रकारको उक्त कम्पनीको लेटस प्रयोग नगर्न चेतावनी दिइएको छ ।
यसअगाडि न्युजर्सीमा रहेको खाद्य कम्पनीले वितरण गरेको रोमेन लेटसमा ब्याक्टेरिया संक्रमण भएको पाइएपछि झण्डै ७५ हजार पाउण्ड सलाद फिर्ता गरिएको थियो । उक्त कम्पनीले विभिन्न २२ वटा राज्यमा सलाद वितरण गरेको थियो भने सलाद खाएका कारण १७ जना बिरामी भएका छन् ।
सलाद खाएका कारण इकोलीको महामारी फैलिएपछि सलाद फिर्ता गर्नु परेको अमेरिकी सरकारको कृषि मन्त्रालयले जनाएको छ । उक्त सलाद टार्गेट, अल्दी र वालमार्ट लगायतका स्टोरमा बिक्रि गरिएको थियो ।
यो सलाद खाएर बिरामी हुनेहरुमा विभिन्न ८ राज्यका १७ जना छन्, जसमा तीनबर्षका बालक समेत छन् । सातजनालाई अस्पतालमा नै भर्ना गरिएको छ भने दुईजनाको मृगौलाले काम नगर्ने अवस्था श्रृजना भएको जनाइएको छ ।
मेरिल्याण्डमा २ जना अस्पताल भर्ना हुनु अगाडि मिसा बेले उत्पादन गरेको चिकेन शिजर सलाद खाएका थिए । बिरामीहरुको घरबाट संकलन गरिएका सलादका नमुनाहरु परिक्षण गर्दा इकोली भेटिएको थियो ।
उक्त संक्रमित सलाद अलाबामा, कनेक्टिकट, फ्लोरिडा, जर्जिया, इलिनोय, इन्डियाना, लुजियाना, मेन, मेरिल्याण्ड, मासाचुसेट्स, मिसिगन, मिनेसोटा, मिसिसिपी , मिजौरी, न्युजर्सी, न्युयोर्क, नर्थ क्यारोलिना, ओहायो, पेन्सिलभेनिया, साउथ क्यारोलिना, भर्जिनिया र विसकन्सिनका स्टोरहरुमा बिक्रिका लागि वितरण गरिएको थियो ।
इकोलीको संक्रमण भएमा बान्ता हुने, रिंगटा लाग्ने, पेट दुख्ने, ज्वरो आउने हुनेगर्छ ।