अमेरिकाज गट ट्यालेण्टको अडिशन राउण्डमा दिनेशले देखाए प्रस्तुती, प्रोड्युसर टिमबाट प्रशंसा
प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तीनपटक पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकाज गट ट्यालेण्टको अडिशनको पहिलो राउण्डमा आफ्नो प्रस्तुती देखाएका छन् । ब्यालेन्स ग्रुपको सहकार्यमा नेपालकै इतिहासमा पहिलो पटक दिनेश सुनारले अमेरिकाज गट ट्यालेण्टको प्लेटफर्ममा प्रस्तुती देखाएका हुन् ।
ब्यालेन्स ग्रुप अफ कम्पनीजका कार्यक्रम संयोजक मनोज पन्थीले स्टेजमा सुनारलाई सघाएका थिए । दिनेशको प्रस्तुतीको नेतृत्व र निर्देशन गरिरहेका उनी अगाडिको राउण्डहरुमा छनौट भएको खण्डमा स्टेजमापनि सँगै हुनेछन् ।
दिनेशले हिजो दिउसो न्युयोर्कको म्यानहटनमा रहेको ज्याकोब जाभिट सेन्टरमा अमेरिकाज गट ट्यालेण्टका प्रोड्युसर टिम र कैयन दर्शकहरुसमक्ष आफ्नो कला प्रदर्शन गर्दा प्रोड्युसर टिम निकै खुशी देखिएका थिए भने प्रशंसा समेत गरेका थिए । उनले अर्को राउण्डमा प्रवेश पाउने वा नपाउने टुंगो केही दिनमा लाग्नेछ ।
अर्को राउण्डका लागि छनौट भएमा उनले स्टेजबाट पार्करमा चौथो नयाँ विश्व रेकर्ड कायम गर्नका लागि प्रयास गर्ने भएका छन् । अमेरिकाज गट ट्यालेण्टको प्लेटफर्ममा दिनेश नेपाली पोशाक र झण्डासहित गएका थिए । साथै अमेरिकामा रहँदा नेपाल र भ्रमणवर्ष २०२० को प्रवद्र्धनका लागि समेत उनले योजना बनाएका छन् ।
दिनेशले यसअघि ३० सेकेण्डमा १२ पटक ट्विस्टिङ्ग ब्याक फ्लिप्स गरेर द मस्ट ट्विस्टिङ्ग ब्याक फ्लिप्स इन बालमा रेकर्ड बनाएका हुन् ।
अमेरिकाको चर्चित टिभी कार्यक्रम अमेरिका गट ट्यालेन्टमा सहभागी हुने दिनेश पहिलो नेपाली खेलाडी हुनेछन् ।