शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थीर


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थीर रहेको छ ।

प्रधानमन्त्री ओलीको शल्यक्रियापश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बिहानदेखि सो सेन्टरमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको दिउँसो एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको थियो ।

नेकपा अध्यक्ष दाहालद्वारा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । अध्यक्ष दाहालले आज साँझ प्रधानमन्त्री उपचाररत त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगी प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यअवस्था बुझ्नुभएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकले अध्यक्ष दाहाललाई अवगत गराउनुभएको थियो । चिकित्सकले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने बताउनुभएको अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको आशङ्का देखिएपछि उहाँ बिहान शिक्षण अस्पताल जानुभएको थियो । प्रधानमन्त्रीको आजै एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतका टोली संलग्न हुनुहुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गाैलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com