अमेरिकी अध्यागमनमा एसाइलम, भिसा, ग्रिनकार्डमा ८ ठूला परिवर्तनको तयारी


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

अमेरिकी सरकारले अमेरिकी अध्यागमनमा ८ ठूला परिवर्तनको तयारी गरेको छ । डिपार्टमेन्ट अफ स्टेट र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आगामी परिवर्तनको खाका तयार गरेको हो । त्यस्ता परिवर्तनहरु आगामी केहीमहिनामा गरिनेछन् ।

परिवर्तन नम्बर १

अमेरिकी सरकारले कामदार भिसा एचवान बीका सन्दर्भमा डिसेम्बरमा नयाँ अध्यागमन नीति प्रस्ताव गर्दैछ । जसमा विशेष पेशाको परिभाषा पुन परिभाषित गरिनेछ भने रोजगारदाता र कामदारको सम्बन्धको परिभाषा पनि पुनरावलोकन गरिनेछ । रोजगारदाताले उचित तलब दिएको सुनिश्चित गर्ने मापदण्ड समेत बनाइदैछ ।

रोजगारदाता र कामदारको सम्बन्धको पुनरावलोकन गर्ने नीतिले थर्ड पार्टीको कार्यस्थलमा कामदार राख्न वा आउटसोर्सिंगमा समस्या आउनसक्नेछ । कम्प्युटर प्रोगामर लगायतका केही कामलाई स्वत विशेष पेशाका रुपमा स्वीकारिने छैन । साथै मार्च २०२० मा एचवान बी कामदार भिसाका एच फोर भिसाबाहक दम्पत्तिलाई वर्क परमिट नदिने नीति ल्याइदैछ ।

परिवर्तन नम्बर २

सन् २०२० को सेप्टेम्बरमा अन्तर कम्पनी कामदार एल वान भिसामा तलबको नयाँ मापदण्ड तोक्ने तयारी गरिएको छ । त्यस्तै विषयगत ज्ञानका सन्दर्भमा पनि यो भिसामा कडा गर्ने तयारी गरिएको छ । परिणामस्वरुप अमेरिकामा रहेका कम्पनीहरुले विदेशमा रहेका कम्पनीबाट यो भिसामा कामदार ल्याउन अझ कठिन हुनेछ ।

परिवर्तन नम्बर ३

अमेरिकी सरकारको युएससीआईएसले विभिन्न अध्यागमन शुल्कमा बृद्धि गर्नका लागि प्रस्तावित नियम प्रकाशित गरिसकेको छ । अमेरिकी नागरिकता लगायतका कैयन आवेदनमा शुल्क बढाउने तयारी भइरहेको छ । त्यसैगरी अमेरिकी सरकारको विदेशमन्त्रालयले पनि दूतावास वा कन्सुलरबाट भिसा लिंदा लिइने शुल्क बढाउने तयारी गरेको छ ।

परिवर्तन नम्बर ४

अगस्त २०२० मा विद्यार्थी भिसामा नियममा परिवर्तन ल्याउने तयारी भइरहेको छ । एफ र एम भिसावाहकका लागि उपलब्ध व्यवहारिक प्रशिक्षणका विकल्पबारे पुनरावलोकन गर्ने र विद्यमान कानुनमा सुधार गर्ने आइसले तयारी गरेको छ । नयाँ नियमले विदेशमा जन्मेका विद्यार्थीले अमेरिकामा विद्यार्थी भिसामा आएर अध्ययन गर्नसक्ने समयलाई सिमित गर्नेछ भने भिसामा दिइदै आएको ड्युरेशन अफ स्टेटसलाई हटाएर मिति तय गरिनेछ ।

त्यस्तै सन् २०२० को जुनमा आइसले सेभिज कार्यक्रममार्फत सबै सही तथ्यांकमा पहुचको सुनिश्चित गर्न डीएसओ र आरओहरुको छानविन गर्ने प्रस्ताव गर्नेछ ।

परिवर्तन नम्बर ५

अमेरिकी सरकारले अमेरिकी भिसाको स्पोन्सरका सन्दर्भमा अझ कडाई गर्ने योजना बनाएको छ । स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट भराउनका लागि नयाँ प्रावधानहरु ल्याउने तयारी गरिएको छ ।

परिवर्तन नम्बर ६

एसाइलमलाई कडाई गर्न कैयन नियमहरु प्रस्ताव गरिएको छ भने कतिपय नियम प्रस्तावको तयारी भएको छ । जसमा युएससीआईएसबाट अस्वीकृत एसाइलम आवेदन अध्यागमन अदालतमा स्वत पुनर्विचार गर्ने पुरानो नियमको पुनरावलोकन गर्न खोजिएको छ । साथै एसाइलमका योग्यताबारे अझ कडाई गर्न खोजिएको छ ।

परिवर्तन नम्बर ७

अमेरिकी सरकारले रोजगारमा आधारित श्रेणीका आवेदन आई १४० सँगै ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न नपाउने नियम ल्याउने तयारी गरेको छ । यो नियम आगामी अप्रिलमा प्रकाशित गर्ने सरकारी योजना रहेको छ । यो नियमका कारण प्रायले दूतावासमार्फत आप्रवासी भिसा लिएर आउनुपर्नेछ । आई १४० सँगै आई ४८५ फाइल गरेर वर्क परमिट वा एड्भान्स परोलको सुविधा खारेज हुनेछ ।

परिवर्तन नम्बर ८

लगानीमा आधारित ग्रिनकार्ड ईबी फाइभका सन्दर्भमा पनि केही परिवर्तन गरिएको छ । रिजनल सेन्टरका सन्दर्भमा परिवर्तनको प्रस्ताव गरिएपनि यो श्रेणीमा ग्रिनकार्ड आवेदन गर्ने नेपालीहरु उल्लेख्य नभएका कारण यसबाट नेपालीमा भने खासै फरक पर्ने देखिन्न ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com