डेढबर्षमा ८ जनालाई विदेशबाटै पक्रेर नेपाल, अपराध गरेर विदेशमा लुक्नेहरु त्राहीमाम


प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार

गत जेठमा बैंककमा बसेर वर्षौँसम्म मानव तस्करीको गिरोह चलाएका परशुराम गुरुङलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्यायो । त्यस्तै, साइबर क्राइम मुद्दाका अभियुक्त सुरेश गुरुङ तथा बैंकिङ कसुर मुद्दामा रेड नोटिस जारी मनोज श्रेष्ठलाई पक्राउ गरेर ल्यायो । कार्तिकमा लीलाराज गौतमलाई नेपाल प्रहरीले अमेरिकाबाट ल्यायो ।

यसरी नेपालमा अपराध गरेर कैयन अपराधीहरु लुक्न विदेशसमेत जाने गरेका छन् । तर भागेर विदेश पुगेकाहरुलाई पक्राउ गरेर नेपाल फर्काउन सफल भएको छ नेपाल प्रहरी । डेढबर्षको अवधिमा ८ जनालाई विदेशबाटै पक्राउ गरेर नेपाल ल्याइएको छ ।

विभिन्न अपराधमा संलग्न भई फरार अपराधीहरुको खोजीका लागि इन्टरपोलमार्फत ३० वटा रेड नोटिस र ३६ वटा डिफ्युजन नोटिस जारी गरिएको छ । जसका कारण स्वदेशमा रहेकाहरुमात्र होइन, भागेर विदेश पुगेका अपराधीहरुको समेत निदहराम भएको छ ।

जस्तोसुकै अपराध गरे पनि विदेशतिर भागेपछि उम्किन सकिन्छ भन्ने अपराधीको बुझाइ हुनेगरेको छ । तर, पछिल्ला कैयौँ घटनाले यो बुझाइ गलत साबित गरिदिएको छ । अपराध गरेपछि विश्वका जुनसुकै कुनामा पुगे पनि उन्मुक्ति पाउन सम्भव छैन । ढिलोचाँडो प्रहरीको पञ्जामा पर्ने निश्चित छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरेर प्रहरीले अपराधमा संलग्न कैयौँलाई स्वदेश झिकाएको छ । पछिल्ला नौ वर्षमा १० देशबाट २३ मोस्ट वान्टेडलाई पक्राउ गरी नेपाल झिकाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com