नेपाली बाँसुरीवादक मनोज सिंह संलग्न एल्बम ग्रामी अवार्डको मनोनयनमा (भिडियोसहित)
प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार
नेपाली बाँसुरीवादक मनोज सिंह संलग्न एल्बम विश्वचर्चित ग्रामी अवार्डको मनोनयनमा परेको छ । आउँदो जनवरी २६ मा अमेरिकामा हुने अवार्डको ६२ औं संस्करणमा मनोज संलग्न एल्बम ‘देवा’ कन्टेम्पररी इन्स्ट्रुमेन्टल म्युजिक अन्तर्गत बेस्ट न्यु एज एल्बम विधामा मनोनयनमा परेको हो ।
ग्रामीमा नेपाली संगीतकार संलग्न सिर्जनाले पहिलो पटक प्रवेश पाएको हो ।
यो एल्बम जर्मन गायिका देवा प्रेमलको स्वरमा रहेको छ । सिंह पछिल्लो समय अमेरिका बसेर गायिका प्रेमल र उनका पति मिटेनसँग सांगीतिक सहकार्य गर्दै आइरहेका छन् । बौद्ध र हिन्दु मन्त्रमा आधारित यो एल्बमका बाँसुरीवादक सिंह हुन् ।
७ वटा गीत समेटिएको एल्बममा स्लो योगा शैलीको अध्यात्मिक संगीत र गायन समेटिएका छन् । मेडिटेटिभ र स्पिरिचुअल संगीतका लागि चिनिएकी गायिका प्रेमलले एल्बम ‘देवा’ गायत्री मन्त्रको सत चक्रबाट सुरु गरेकी छन् । एल्बमको अन्तिममा पनि गायत्री मन्त्रकै सात चक्रको मिक्स भर्सन सुन्न सकिन्छ ।
सुन्दै गर्दा आत्मिक आनन्द मिल्ने यी मन्त्र गायनमा सिंहले गरेको बाँसुरीवादन निकै कर्णप्रिय छ । काठमाडौं बौद्धमा हुर्की बढेका सिंह आठ वर्षको उमेरदेखि नै बाँसुरीतिर तानिएका थिए । हाल अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएका उनले ग्रामीका लागि नोमिनेट भएकोमा निकै खुशी व्यक्त गरेका छन् ।
देवा एल्बम र यसमा समावेश गीतहरु सुन्न यहाँ क्लिक गर्नुहोला ।
सबै तस्वीर फेसबुकबाट साभार ।