३ प्रदेश सांसदमा नेकपा, काँग्रेस र जनमोर्चा, प्रतिनिधिसभा सदस्यमा नेकपाकै जीत


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

तीन प्रदेशसभा सदस्य र एक प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपाले एकसिट गुमाएको छ । विगतमा बामपन्थीहरुले जितेको कास्की, बागलुङ र दाङमा यसपटक पनि बामपन्थीहरुले विजय प्राप्त गरेर निरन्तरता दिएका छन् भने विगतमा नेकपाले जितेको भक्तपुरमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । गाउँपालिका र नगरका अन्य रिक्त स्थानमा समेत चुनाव भएपनि सबैको मुख्य ध्यान भने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावमा थियो ।

विगतमा नेकपाले जितेको भक्तपुर जिल्ला क्षेत्र नम्बर १ को १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गरे भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरे । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा ९एमाले० बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१.१७ प्रतिशत मत खसेको थियो ।

एक्काइस हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।

त्यस्तै कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी भएकी छिन् ।

उनी २४ हजार ३९४ मत प्राप्त गरी विजयी भएकी छिन् भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन् । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए ।

दाङको निर्वाचन क्षेत्र नं ३ को २ मा प्रदेशसभा सदस्यका लागि भएको चुनावमा नेकपा उम्मेदवार विजयी भएकी छिन् । अन्तिम मतपरिणामअनुसार नेकपाकी उम्मेदवार विमला कुमारी घर्तीले २४ हजार २८६ मतसहित विजय हासिल गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरे ।

२०७४ सालको चुनावमा एमालेका उत्तरकुमार ओलीले २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए । बिमला उनकी श्रीमती हुन् । ०७४ सालमा नेपाली कांग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो ।

त्यस्तै बाग्लुङ क्षेत्र नम्बर २ को २ बाट बामपन्थी गठबन्धनका उम्मेदवार उम्मेदवार खिमविक्रम शाही विजयी भएका छन् ।राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले ११ हजार २ सय ३५ मत ल्याए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरेका छन् ।

गत चुनावमा पनि राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए तर उनको मृत्युभएपछि रिक्त पदमा निर्वाचन भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com