नारायणगढ-मुग्लिन सडक आजदेखि दुई सातासम्म बन्द


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

निर्माणका लागि नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।

सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको माग अनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङगामा रोकिनेछन् ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिने छ । सो अवधिमा एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com